समानुपातिकका लागि आज निवेदन दिनुपर्ने

काठमाडौं, १४ असोज । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउनका लागि राजनीतिक दलहरूले सोमबार (आज) निवेदन दिनुपर्ने भएको छ ।

आयोगका प्रवक्ता वीरबहादुर राईले समानुपातिकमा भाग लिन चाहने राजनीतिक दललाई आज पहिलो चरणमा निवेदन दिनुपर्ने कार्यसूची बनाई सार्वजनिक रूपमा आह्वान गरिएको जानकारी दिए । निवेदन नदिने दलले समानुपातिक प्रणालीमा भाग लिन नपाउने व्यवस्था छ । आयोगले निवेदन दर्ताका लागि सोमबार कार्यालय समय तोकेको छ । समानुपातिक प्रणालीमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको सहजताका लागि प्रारम्भिक चरणमा निवेदन आह्वान गरिएको प्रवक्ता राईले बताए ।
निवेदनमाथि छानबिन गरी १५ गते नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । कार्यसूचीअनुसार प्रकाशित सूचीमा नाम रहेका दललाई नाम फिर्ताका लागि १६ गतेको समय दिइएको छ । १७ गते समानुपातिक उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया