मधेसी दलमा नेता तान्ने होड

morcha madhesiकाठमाडौं, १३ असोज । संविधानसभा चुनाव नजिकिँदै जाँदा तराई–मधेस केन्द्रित दलमा नेता तान्ने होड चलेको छ । नेताहरू पनि एकपछि अर्को गर्दै ‘पार्टी फेर्ने प्रतिस्पर्धा’मा लागेका छन् ।

तामझामका साथ तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) प्रवेश गरेकी पूर्वसञ्चार राज्यमन्त्री सरिता शाह त्यो पार्टीमा लामो समय टिक्न सकिनन् । तमलोपा प्रवेश गरेको एक महिनामै उनी शनिबार सद्भावना पार्टीमा प्रवेश गरेकी छन् । उनी विगतमा राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिककी केन्द्रीय सदस्य थिइन् ।
सुरिताका साथ शनिबार नै मधेसी जनअधिकार फोरम नेपालका महेन्द्रप्रसाद यादव, सत्यनारायण मण्डल र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका विश्वनाथप्रसाद शाह तराई मेधस सद्भावना पार्टीमा प्रवेश गरेका हुन् । यसअघिदेखि मधेसी दलहरूमा नेता तान्ने होड चल्दै आएको छ । त्यसरी नेता तान्ने प्रतिस्पर्धामा मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावनालगायतका दलअघि छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही समयअघि मात्र रौतहटबाट अघिल्लो संविधानसभा चुनावमा स्वतन्त्रबाट जितेका बबन सिंहलाई पार्टी प्रवेश गराएका थिए । त्यस्तै, यादवले सद्भावनाबाट चुनाव जितेका महेन्द्रप्रसाद यादव, मधेसका वरिष्ठ नेता भरतविमल यादव, रामचन्द्र राय यादवलगायतलाई पनि पार्टी प्रवेश गराएका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि यो मामिलामा अघि नै देखिएका छन् । उनले पनि पूर्वसभासद् एवं पूर्वमन्त्री गोविन्द चौधरीलगायतलाई पार्टीमा प्रवेश गराएका थिए ।
नेता तान्ने होडमा सद्भावना सबैभन्दा अघि देखिएको छ । सदभावनाले पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवलाई यसरी नेता तान्ने कामको जिम्मेवारी नै दिएको छ । उक्त दलले पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा, फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष शेख अव्दुल जव्वर, पूर्वराज्यमन्त्री करिमा बेगमसम्मलाई आफ्नो पार्टीमा प्रवेश गराइसकेको छ ।

प्रतिक्रिया