पाकिस्तानमा भूकम्पबाट ३२८ को मृत्यु

Pakistanकराची, १० असोज । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बालचिस्तानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३ सय २८ जनाको मृत्यु भएको छ । सयौँ व्यक्ति घाइते भएका छन् ।

७.७ रेक्टर स्केलको भूकम्पले बालचिस्तानको अवारनका २० किलोमिटरसम्मको क्षेत्र प्रभावित भएको छ । थुप्रै घर ध्वस्त भएका छन् भने सयौँ व्यक्ति खुला आकाशमा रात काट्न विवश बनेका छन् । भुइँचालाले धाँजा फाटिएपछि गद्दार बन्दरगाह र बालचिस्तान टापुको दूरी पनि छोटिएको छ । भूकम्प आउँदा वैज्ञानिकहरूले हालसालै पत्ता लगाइएको नयाँ टापु हेर्नका लागि थुप्रै व्यक्ति समुद्री किनार पुगेका थिए ।
मंगलबारको भूकम्प यति शक्तिशाली थियो कि दिल्ली र दुबईजस्ता टाढाका सहरमा समेत धक्का महसुस भएको थियो । कराचीमा व्यस्त रहेका कामदारले त्यसपछि कार्यालयमा कुनै काम नै गर्न सकेनन् । बालचिस्तान पाकिस्तानको सबैभन्दा कम जनसंख्या भएको प्रान्त हो । बालचिस्तानमै लामो समयदेखि पृथकतावादी गतिविधिलाई नियन्त्रण गर्न तैनाथ सैनिक नै उद्धारका लागि पहिला पुगेका थिए ।
बालचिस्तान सरकारका प्रवक्ता जन मोहम्मद बुलेदीका अनुसार अवारन, केच, गद्यार, पंगर, चागी र खुचदारका गरी कुल ३ लाख जनता प्रभावित भएका छन् । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेमा अवारन सहरका का १ सय ६० तथा अन्य क्षेत्रका १ सय २५
छन् । यसैगरी, केचका ४३ जनाको मृत्यु भएको छ । हराउनेको संख्या ४ सय ४० छ ।
अवारन सरकारका अधिकारी अब्दुल रसिदका अनुसार त्यहाँका ९० प्रतिशत घर क्षतविक्षत भएको छ । ‘हामीले सबै चिज गुमायौँ । हामीले भण्डार गरेको खानेकुरासमेत माटोले पुरिएको छ,’ ४५ वर्षीय किसन नुर मोहम्मदले भने । पाकिस्तानी सेनाले प्रान्तीय राजधानी क्वेटामा सहयोगमा २ सय जना सैनिक पठाएको छ । मंगबलारदेखि नै हेलिकप्टरबाट घाइतेलाई कराचीलगायत सहरमा उपचारका लागि लगिएको छ । सबैभन्दा बढी प्रभावित अवारन जिल्लामा ३ लाख घर थिए । ती अधिकांश माटाले बनेका घर थिए । भत्किएका घरमै धेरै माटाले पुरिएका छन् ।

प्रतिक्रिया