काठमाडौं, ९ असोज । झन्झटिलो बैंकिङ प्रणालीका कारण सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन समस्या देखिएको छ ।
ज्येष्ठ नागरिक, एकल महिला, अपांग तथा पिछडिएको वर्गलाई सरकारले दिँदै आएको बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन थालेपछि कठिनाइ सिर्जना भएको हो । बैंकिङ प्रणालीमार्फत भत्ता लिँदा व्यक्ति आफँै पुग्नुपर्ने बाध्यात्मक व्यवस्थाले ललितपुर उपमहानगरपालिकाका एक हजारभन्दा बढी ज्येष्ठ नागरिक र एकल महिलाले अघिल्लो वर्ष भत्ता पाउन नसकेका हुन् ।
नेपाल बैंक लिमिटेड ललितपुर शाखाका प्रबन्धक भानुभक्त लम्सालले बाँडेर बाँकी रहेको भत्ता रकम सरकारलाई फर्काएको जानकारी दिए । उपमहानगरपालिकाका लेखा अधिकृत मोहन रिजालले तीन हजार ५ सय ३० जना ज्येष्ठ नागरिक, दुई हजार ७ सय ८९ जना एकल महिला, ८५ जना पूर्ण अपांग र ३० जना आंशिक अपांगसमेत ६ हजार ७ सय ४७ जनामध्ये करिब १ हजारले पाउनुपर्ने रकम बैंकको कारण २० लाख ९२ हजार ७ सय रुपियाँ राजस्व खातामा फर्काएको बताए ।
सानेपा निवासी ८३ वर्षीया सुमित्रा जोशीले आफू असार २१ गते जाँदा पैसा आउँदै छ भनेपछि असार ३० मा पुग्दा बजेट फर्किएको जवाफ दिएको बताए ।
राजस्वमा जम्मा भएको सो रकम अघिल्लो आवको सामाजिक सुरक्षा भत्ता जिम्मेवारीको रकम भएकाले पुन: दिलाउन मन्त्रालयलाई अनुरोध गरी पठाइएको जिविसका पञ्जीकरण अधिकृत बच्चु रिमालले बताए ।
प्रतिक्रिया