एक खर्ब वैदेशिक सहायता

काठमाडौं, ६ असोज । मुलुकको सामाजिक–आर्थिक विकासका साथै विकास निर्माणका विभिन्न परियोजना कार्यान्वन गर्न एक खर्ब बढीको वैदेशिक सहायता प्राप्त भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाकाअनुसार गत आर्थिक वर्षमा नेपालको विकासका साझेदारबाट एक खर्ब १५ अर्ब १५ करोड ६० लाख ७८ हजार प्राप्त भएको थियो ।
विकास निर्माणका परियोजना कार्यान्वयनका निम्ति प्राप्त सो रकममध्ये ५३ अर्ब ९० करोड ९८ हजार अनुदान सहायता हो भने बाँकी रकम ऋण हो ।
त्यसैगरी, चालु आर्थिक वर्षको भदौ १५ सम्म सरकारलाई अन्तर्राष्ट्रिय निकायबाट तीन अर्ब ४९ करोड प्राप्त भएको छ । वैदेशिक सहयोगको रूपमा उपलब्ध सो रकममध्ये १४ करोड ९० लाख अनुदान सहयोग हो ।
कृषि विकास, वाणिज्य तथा आपूर्ति, संस्कृति, ऊर्जा, वातावरण संरक्षण, सुशासन प्रबद्र्धन, स्वास्थ्य, गृह प्रशासनको क्षमता विस्तार तथा सुदृढीकरण, स्थानीय विकास र स्वच्छ खानेपानी आपूर्तिका निम्ति ऋण तथा अनुदान सहायता उपलब्ध भएको हो । उक्त महाशाखाका अनुसार सर्वाधिक ऋण ऊर्जा क्षेत्रको विकासका लागि प्राप्त भएको छ ।
नेपालको विकासका निम्ति सहायता रकमका साथै प्राविधिक मद्दत गर्नेमा संयुक्त राष्ट्रसंघीय विभिन्न निकाय, विश्व बैंक, एसियाली विकास बैंकजस्ता बहुपक्षीय दातृ संस्था, द्विपक्षीय साझेदार भारत, चीन, जापान, दक्षिणकोरिया, जर्मनी, स्विटजरल्यान्ड, अमेरिका, बेलायत, डेनमार्क, नर्वे, फिनल्यान्ड, युरोपेली संघ, अस्ट्रिया, अस्ट्रेलिया, नेदरल्यान्डस्, अन्तर्राष्ट्रिय विकास निकाय युएसएआइडी, जाइका, डिएफआइडी, जिआइजेड, असएड, एसडिसी, कोइकालगायत छन् ।

 

प्रतिक्रिया