दाइजोका कारण चार दिदीबहिनीद्वारा आत्महत्या

मुल्तान । पाकिस्तानको पञ्जाव प्रान्तबाट दक्षिणी क्षेत्र माइल्सीका एकै परिवारका चार छोरीले आत्महत्या गरेका छन् । गरिबीका कारण उनीहरूका बुबाले विवाह गर्न नसकेको भनी तनावमा रहेका दिदीबहिनीले शुक्रबार सामूहिक आत्महत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । दाइजोको व्यवस्था हुन नसकेपछि उनीहरूको विवाह हुन सकेको थिएन । समाचार एजेन्सीका अनुसार आफ्नो बुबालाई दाइजो र विवाहका विषयमा जानकारी गराउँदै ३५, ३८, ४३ र ४५ वर्षका ती दिदीबहिनीले नहरमा हाम फालेर आत्महत्या गरेका हुन् । ३१ वर्षकी कान्छी छोरी भने नहरमा तैरिएपछि उनको जिवितै उद्वार गरी अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

विवाहबारे उनीहरूको बुबासँग मंगलबार विवाद भएको छिमेकीले जनाएका छन् । विवादकै कारण उनीहरूले रिसको झोकमा घरनजिकैको नहरमा हाम फालेर ज्यान गुमाएको प्रहरी अधिकारी मलिक दाउद हुसेनले बताए । ‘बासिर अहमद राजपुतले पाँचवटी छोरीको विवाह गर्न सकेनन् किनभने विवाहका लागि आवश्यक खर्च र दाइजोका लागि पैसा पनि थिएन,’ हुसेनले भने । एकजना छिमेकीले कान्छी छोरीको उद्वार गरिएको र त्यहाँ बगेर मृत्यु भएका दुईको शव फेला पारिएको जानकारी दिए । अर्का दुई जनाको भने खोजी जारी रहेको छ । पाकिस्तानको गरिब परिवारमा दाइजो प्रथा निकै ठूलो समस्याका रूपमा देखा परिरहेको छ । छोरीको विवाहमा दाइजो दिन नसक्दा कयौँ परिवारले विवाह नै गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया