मकैको उत्पादनमा कमी

कञ्चनपुर : अधिक वर्षाका कारण यस वर्ष मकैको उत्पादनमा कमी आएको छ । वर्षाले गर्दा मकैका बोट हुर्कन नसकेको र बढी घाँस उम्रेर मकैको बोट सप्रन नसकेकाले उत्पादनमा कमी आएको हो । कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार आव ०६९/७० मा ३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ७ हजार २१८ टन मकै उत्पादन भएकामा आव ०७०/७१ मा ३ हजार ६ सय हेक्टरमा लगाएको मकै बालीको उत्पादन ६ हजार ४ सय ९६ दशमलब २ टन रहेको छ । जुन गत वर्षको तुलनामा १० प्रतिशतले मकैको उत्पादनमा कमी आएको कृषि विकास कार्यालयका बागवानी अधिकृत विश्राम चन्दले बताए ।

वर्षाले गर्दा मकैका बोट हुर्कन नसकेकाले कृषकले नोक्सानी व्यहोर्नु परेको उनको भनाई छ । बोट नै नहुर्केपछि मकैका घोगा सानो लागेकाले उत्पादन घटेको उनले बताए । यहाँका कृषकले अरूण २, रामपुर क्पोजिट र विभिन्न हाइब्रेड जातका मकैखेती गर्दै आएका छन् । ‘बिउमा मात्रै कृषकले २० टन मकैको प्रयोग गर्दै आएकामा विभिन्न रोग किरा र भण्डारणको समस्याले १० टन मकैमा कृषकले नोक्सानी बेहोर्नुपर्ने समस्या रहेको छ,’ उनले भने ।
यहाँका कृषकले खाद्यान्नका रूपमा ६ हजार ४ सय ६० टन मकै मात्रै प्रयोग गर्दै आएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा बढी मकैखेती हुने गरको छ । (सौस)

प्रतिक्रिया