मापदण्डविपरीत मासु पसल सञ्चालन

चितवन, ४ असोज । चितवनमा अधिकांश माछा तथा मासु बिक्री पसल मापदण्डविपरीत सञ्चालनमा रहेका छन् । मासु व्यवसायीले मापदण्ड पूरा गर्नु त कहाँ हो कहाँ बरु गुणस्तरहीन वस्तु बिक्री गरिरहेका छन् ।

सोही कारण चितवनका उपभोक्ता अस्वस्थ मासु खान बाध्य छन् । स्वास्थ्यको दृष्टिकोणले अति संवेदनशील मासु तथा मासुजन्य वस्तु व्यवसायमा व्यवसायीको चरम लापरबाही देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनको अगुवाइमा भरतपुर नगरपालिकाले नगर क्षेत्रमा सुरु गरेको अनुगमनले त्यस्तो कुरा देखाएको हो । अनुगमनका क्रममा पशुवधशालाभित्र प्रयोग हुने भाडा र उपकरण सफा नभएको, नापतौलको उपकरण बिग्रिएको, पसलमा स्पष्ट रूपमा मूल्य सूची, इजाजत पत्र, नवीकरण मिति तथा स्थानीय निकायले तोकेको अन्य विवरण समेत नराखेको टोलीले बताएको छ ।
भरतपुरको मुख्य बजार क्षेत्रमा नगरपालिकाले अनुमगन गर्दा अधिकांश बिक्री पसल मापदण्डविपरीत सञ्चालनमा रहेका छन् । टोलीले भरतपुर र नारायणगढ क्षेत्रका २० वटा माछा तथा मासु पसलमा अनुगमन गरेको हो । चाडवाडलाई मध्यनजर गर्दै दुई साताअघि नगरपालिकाले पत्र काटी गुणस्तर कायम गर्न निर्देशन गरेका २० वटा पसलमा बुधबार अनुगमन गर्दासमेत उनीहरूले गुणस्तर तथा मापदण्डमा कुनै सुधार नगरेको भेटिएको जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेलले बताए । अनुगमनका क्रममा खुल्ला रूपमा मासु बिक्रीका लागि राखिएको, भिँmगा भन्किएको, सरसफाइ नभएको, उचित फ्रिजिङ नगरेको, मासुलाई छोप्ने जालीको प्रयोग नगरेको पाइएको पौडेलले बताए । भरतपुर नगर क्षेत्रमा १६७ वटा माछा तथा मासु पसल सञ्चालनमा रहेका छन् ।
अनुगमन टोलीले लायन्सचोकमा रहेको न्यू डिआर बंगुर मासु पसल, मिलिजुली बंगुर मासु पसल, चितवन मिट हाउस, चमर्द मिससप र बालकुमारी तरकारी पसलमा रहेको गोरख माछा पसल, शिवजी माछा पसल, थापा माछा पसल, राजपुरको माछा पसल, मुखिया मिट सप्लार्यसलगायत पसलमा बुधबार अनुगमन गर्दा गुणस्तरहीन र मापदण्डविपरीत मासु बेचिरहेको भेटिएको जिल्ला पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक सीताराम मरहठ्ठाले बताए । उनले चितवनमा पशुबधशाला र मासु जाच ऐन लागू नहुदा व्यापारीहरूको मनपर्दी बढेको बताए । विषेश गरी बंगुरको मासु र भैँसीको मासु बेच्ने पसलहरू बढी फोहर र अस्वस्थ्यकर रहेको पाइएको छ । ती पसलले लायन्सचोकमा रहेको एक खोलामा सोझै पशुजन्य फोहरहरू फाल्ने गरेको पाइएको छ । जसले गर्दा त्यस क्षेत्रमा दुर्गन्ध र रोगको संक्रमण समेत फैलिने खतरा बढेको छ ।
उपभोक्ताहरूको हक र हित संरक्षणलाई ध्यानमा राखी अति छिटो संक्रमण हुने र स्वास्थ्यका दृष्टिले अति संवेदनशील मासु तथा मासुजन्य वस्तु तथा व्यवसायलाई स्वच्छ, शुद्ध र गुणस्तरयुक्त बनाउन सरकार पशु बधशाला र मासुजाँच ऐन २०५५ तथा मासु जाँच निर्देशिका २०६४ लागू गरे पनि अधिकांश बिक्रेताले कानुनको पालना गरेको पाइँदैन ।
निर्देशिकामा कालगतिले मरेको मासु बिक्री गर्न नपाउने, छालासहितको मासु बिक्री गर्न नपाउने, एक जातको पशुको मासु अर्को जातमा सिमाउन नपाउने, मासुको स्वाद परिवर्तन तथा तौल बढाउन कुनै पनि पर्दाथको प्रयोग गर्न नपाउने, उचित खालको तोकिएको तापक्रममा मासु राख्नुपर्ने लगायतको कुराहरू उल्लेख छ ।

प्रतिक्रिया