बाजुरामा मदिराको बिगबिगी

madiraबाजुरा, ३ असोज । जिल्ला सदरमुकाम मार्तडी र कोल्टी बजारमा मदिराको नशामा मात्तिनेको संख्यामा वृद्धि भएको छ ।

दसैँतिहार नजिकिँदै गर्दा बाजुराका होटेल पसलमा मदिराको बिगबिगी बढेको स्थानीयले बताएका छन् । प्रहरी प्रशासनको कडा निगरानीमा शान्तिपूर्ण रहेको मार्तडी बजारमा चाडबाड र चुनावी चहलपहलसँगै मदिराको नशामा मात्तिनेको संख्यामा पनि वृद्धि भएको हो । यतिबेला मध्यरातमा पनि युवाहरू मदिराको तालमा मात्तिएर बजारमा डुलिरहेका जताततै गाली बेइज्जती गर्दै हिँड्ने गरेका छन् ।
यति बेला जिल्लाका विभिन्न बजारमा युवादेखि वृद्धसम्म रातदिन मदिराको नशामा मात्तिन थालेपछि मार्तडी र कोल्टी बजार तनावग्रस्त बनेको छ । महिलालाई राति एक्लै हिँड्नसमेत असुरक्षा हुने गरेको छ । प्रत्येक होटल पसलमा चुनावी विषयले बजार पाएको छ । युवाहरूले मदिरा सेवन गरेर होहल्ला गर्ने गाली गर्ने र खुलेआम झैझगडा गर्ने गरेका भए पनि प्रहरी प्रशासन मौन रहेको सर्वसाधारणले बताएका छन् ।
बिनाकारण बजारमा महिलाहरूलाई जिस्काउने गरेको महिलाअधिकारकर्मी निर्मला रोकायाले बताएकी छन् । उनले भनिन्, ‘अहिले बजारमा जताततै युवाहरूले जिस्काउँदै हो–हल्ला गर्ने गरेको पाइएको छ ।’ खुला मदिराले चाडपर्व नजिकिँदै गए पनि शान्तिसुरक्षाको अवस्थामा कमी आएको बजारवासीको गुनासो छ । जिल्लाका मार्तडीलगायत कोल्टी, बेतालमाण्डौ, बार्जुगाड सुर्खा तिपाडा, पिलुचौरलगायत बजारमा पनि मदिरा सेवन गरेर हो–हल्ला गर्नेको संख्यामा वृद्धि भएको खबर प्राप्त भएको छ ।
जिल्लाका सबै क्षेत्र र भूगोललाई समेटिने गरी प्रहरी चौकीको पनि अभाव रहेको छ । यता प्रहरी नायब उपरीक्षक जनकराज पाण्डेले भने शान्तिसुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । उनले दसैँ नजिकिन थालेपछि बाजुराका बजारमा हो–हल्ला भएको बताउँदै यसको लागि जिल्लामा २४ घन्टै प्रहरी परिचालन गरिएको बताए । यदि कसैले मदिरा सेवन गरेर हल्ला गरेको पाइएमा उसलाई तुरुन्तै प्रहरीको निगरानीमा ल्याउने गरेको बताए ।

प्रतिक्रिया