ढुवानी भाडा बढ्यो

खोटाङ : खोटाङ यातायात व्यवसायी संघले खोटाङ भित्रिने मालसामानको ढुवानी भाडादर वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका छन् । आलोपालो प्रणालीको नाममा एकाधिकार लगाउँदै यातायात व्यवसायी संघले जिल्लामा भित्रिने उपभोग्य सामानको ढुवानी भाडादर दोब्बर वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका हुन् ।
कच्ची सडकको कारण देखाउँदै यातायात व्यवसायीले मालवाहक सवारीसाधनमार्फत हुने ढुवानी भाडादर वृद्धि गरिएको जनाएको छ । जिल्लामा प्रतिकिलो चार रुपियाँँ ५० पैसादेखि ६ रुपियाँँ ५० पैसामा ढुवानी हुँदै आएको सामानको भाडा दरलाई व्यवसायी संघले वृद्धि गरेर प्रतिकेजी सातदेखि आठ रुपियाँँ पुर्‍याएको छ ।
उदयपुर र ओखलढुंगाको सीमामा पर्ने हर्कपुर तथा खोटाङ र ओखलढुंगाको सीमामा पर्ने जयरामघाटमा सञ्चालित बेलिब्रिज निकालिएका कारण ढुवानी दर बढाउनुपरेको व्यवसायीको भनाइ छ । भरियालाई बोकाएर सामान तार्दा प्रतिकेजी दुई रुपियाँ लाग्ने गरेका कारण ढुवानी भाडा दर बढाइएको यातायात व्यवसायी गोपाल श्रेष्ठले बताए । आलोपालोको नाममा यातायात व्यवसायीले गरेको एकतर्फी ढुवानी दर वृद्धिले जिल्लामा सामानको मूल्य पाँचदेखि १० प्रतिशतले वृद्धि भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैँजूले बताए ।
ढुवानी र मूल्यवृद्धिका कारण उदयपुरको कटारीको तुलनामा सदरमुकाम दिक्तेलमा उपभोग्य सामानको मूल्य २० रुपियाँसम्म फरक देखिएको उपभोक्ता बताउँछन् । ढुवानी भाडादर वृद्धिले जिल्लाका सर्वसाधारण मारमा परेको अध्यक्ष सैँजूको भनाइ छ । कतिपय व्यवसायीले ढुवानी दर वृद्धि भएको मौका पारेर पहिल्यै ल्याएर राखेका सामानको मूल्य बढाएर बिक्री सुरु गरेको स्रोतको दाबी छ ।
दुवै नदीमा सञ्चालित बेलिब्रिज बर्खायाममा निकाल्ने र हिउँदमा सञ्चालन गरिँदै आइएको छ । हिउँदयाममा दिक्तेलबाट तराई तथा राजधानीसम्म सिधा यातायात सेवा सञ्चालन भए पनि बर्खायाममा उदयपुरको कटारीदेखि यहाँसम्म तीनवटा सवारीसाधन फेर्नुपर्ने बाध्यता छ । सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले छलफलका माध्यमबाट समस्या समाधान गर्ने बताए । उनले भने, ‘मूल्यवृद्धिले आफूहरूलाई मार परेको सर्वसाधारणबाट गुनासो आएकाले तत्काल छलफल गर्ने तयारीमा लागेका छौँ ।’

प्रतिक्रिया