‘बरु अध्यक्ष पदबाट राजीनामा दिन तयार छु’

Khilraj-Regmiकाठमाडौं, १ असोज । उच्चस्तरीय राजनीतिक समितिले चुनावका लागि अड्चन रहेका कानून र संवैधानिक जटिलता फुकाउन सरकारलाई सुझाव दिएको छ ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र समितिका सदस्यहरुबीच आज (मंगलबार) काठमाडौंमा भएको भेटबार्तामा असन्तुष्ट दलहरुसँग भएका सहमतिलाई कानूनी रुपमा दिन नेताहरुले आग्रह गरेका हुन् । ‘मंसिर–४ गते हुने चुनावमा देखिएका कानूनी र संवैधानिक अड्चन मिलाउन सुझाव दिएका छौं,’ एमाले नेता अग्नि खरेलले जानकारी दिए ।
समितिले संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएका सहमति कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले समितिले सो प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिँदै आएको छ ।
‘अध्यक्ष खिलराज रेग्मीलाई संविधान संशोधनका लागि राष्ट्रपतिसमक्षमा अध्यादेश पठाउन सुझाव दिएका छन्,’ खरेलको भनाई छ ।
समितिले नेकपा–माओवादीसँग भएको वार्ता र सम्वाद प्रक्रियाका विषयमा पनि रेग्मीलाई जानकारी गराएको छ ।
नेकपा–माओवादीले मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन गरेको प्रस्तावलाई रेग्मीले आफू सो माग पुरा गर्न असमर्थ रहेको जानकारी समितिलाई गराएका थिए । ‘प्रधानन्यायाधीश पदबाट मैले राजीनामा दिँदैन,’ रेग्मीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बरु अध्यक्ष पदबाट राजीनामा दिन तयार छु ।’
नेकपा–माओवादीसँगको वार्ता प्रक्रिया सहमति हुन सकेको छैन । वार्ता असफल भए पछि नेकपा–माओवादीले चुनाव विथोल्ने जनाएको छ ।

प्रतिक्रिया