परम्परागत तेल पेल्ने ‘कोल’ लोप हुँदै

Kol-ma-Tori-Peldaiबाजुरा, १ असोज । जिल्लाका अधिकांश गाउँँमा परम्परागत तेल पेल्ने ‘कोल’ अहिले पूर्णतया लोप हुने अवस्थामा पुगेका छन् ।
ग्रामीण क्षेत्रमा समेत बजारको प्याकिङ तेल जहाँत्यहीँ पाइन थालेपछि परम्परागत ‘कोल’ लोप हुने अवस्थामा पुगेका हुन् । केही वर्ष अघिसम्म हरेक टोलमा कोल देख्न पाइने स्थिति थियो भने अब कोल तस्बिरमा मात्र सीमित हुने भएको छ ।
करिब एक दशकअघिसम्म सदरमुकाम वरिपरिका गाउँँमै धेरै कोल थिए । तोरी, तिरखुला, तिललगायतका तेलहनलाई पेली तेल निकालिने परम्परागत हाते मेसिनका रूपमा चिनिने कोल अहिलेको बढ्दो आधुनिकतासँगै लोप हुने अवस्थामा पुगेको हो । बढ्दो औद्योगिकरण  र सहरीकरणका साथै ग्रामीण समुदायमा पनि तेलहनको खेतीमा कमी आएकाले यस्ता परम्परागत औजार लोपोन्मुख अवस्थामा पुगेका हुन् ।
त्यस्तै पुरानो शैलीमा निर्माण भएका सामानले काम गर्न झन्झटिलो हुने भएकाले पनि त्यस्ता सामान लोप हुने अवस्थामा पुगेका स्थानीयले बताएका छन् । उक्त गाउँँमा अन्न पिस्ने जातोसमेत लोप हुने अवस्थामा पुगेको छ । दुईवटा ढुंगालाई कलात्मक शैलीमा काटी त्यही ढुंगामा अन्नपात पिसेर पीठो निकाल्ने परम्परा पनि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । मानिसमा व्यस्तता बढ्नु, सुख भोगी हुनु र बजारले सस्तो र सुलभ रूप लिनु नै यसको प्रमुख कारण भएको जानकारहरूको भनाइ छ । स्थानीयस्तरमा उत्पादन गरेको तेलमा कुनै पनि खालको मिसावट नहुने भएका कारण मानिसको स्वास्थ्यलाई फाइदा हुने चिकित्सकको भनाइ छ ।
तर, अहिले बजारमा पाइने तेल तथा खाद्यान्न उत्पादन र उपभोक्ताको प्रयोगलाई मापन गर्दा उत्पादन गरिएको धेरैपछि मात्र प्रयोगमा आउने गरेको पाइएको छ । सर्वसाधारणले सबैभन्दा सस्तो तेल खोज्ने भएका कारण तेलबाट हुने रोगको संक्रमण छिटो हुने प्राथमिक स्वास्थ्य कार्यालयका सिअहेब अशोक सिहंले बताए । कोल्टी उद्योग वाणिज्य संघका अध्यक्ष काशी थापाले पनि स्थानीय उत्पादनलाई महत्त्व दिन सके गाउँको आयआर्जनमा सहयोग पुग्नुका साथै धेरै प्रकारका रोगको सिकार हुन नपर्ने बताए । अहिले गाउँमा कोल र पिसुवा गर्ने परम्परा पनि लोप हुन थालेको छ । केही समय पहिलेसम्म कोल पेल्ने चलन जिल्लाका सबै गाविसमा कायम थियो ।

प्रतिक्रिया