कैलालीमा विपद् पूर्वसूचना संकेत बोर्ड

kailaliधनगढी, १ असोज । जिल्ला प्रशासन कार्यालय कैलालीमा पहिलोपटक विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अन्तर्गत जल सतह देखाउने स्वचालित विपद् पूर्वसूचना संकेत बोर्ड स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको भवनभित्र स्थापना गरिएको बोर्डले कर्णाली र मोहना नदीको जलस्तरका बारेमा छिनछिनमा जानकारी दिनेछ । बाढी आएका बेला सर्वसाधरण सुरक्षित स्थानतर्फ जान सकून् भनेर स्वचालित संकेत बोर्डको स्थापना गरिएको हो । यो प्रणाली सुदूरपश्चिमकै पहिलो हो ।
कर्णाली र मोहना नदीमा वर्षेनी आउने बाढीले ठूलो मात्रामा सर्वसाधरण प्रभावित भई धनजनको क्षति हुन थालेपछि विभिन्न दाताको सहयोगमा पूर्वसूचना संकेत बोर्ड राखिएको प्रशासन कार्यालयले जनाएको छ ।
स्थापित संकेत बोर्डको उद्घाटन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले संकेत बोर्डसँगै जडान गरिएको साइरनले कर्णाली र मोहना नदीमा पानीको सतह बढ्दा खतराको घन्टी र साइरन बज्नेवित्तिकै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालित हुन सहयोग पुग्ने बताए ।
बोर्डमा पानीको सतह खतरा भन्दामाथि पुग्यो भने साइरनले सतर्कताका लागि संकेत गर्छ । यसले गर्दा प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षतिलाई कम गर्न सहयोग मिल्ने छ लेखकले भने ।
कर्णालीमा ९ देखि ११ मिटर र मोहना नदीमा अढाइदेखि साढे तीन मिटर पानीको सतह पुगेपछि खतराको संकेत मानिन्छ । पानीको सतह खतराको संकेतभन्दा माथि पुगेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न सजिलो होस् भनेर पूर्वसूचना बोर्डको स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी कैलालीले जनाएको छ ।
मर्सिकोर नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीले पहिलो चरणमा कर्णाली र मोहना नदीको जलस्तर मापन गरी सम्भावित क्षति कम गर्न पूर्वसूचना प्रणाली स्थापना गरिएको रेडक्रस कैलालीका उपसभापति सीताराम जोशीले बताए ।
जोशीले आउँदा दिनमा क्रमश: अन्य नदीको जलस्तर बारेमा जानकारी दिने सूचना प्रणाली पनि स्थापना गर्ने कार्यक्रम रहेको बताए ।
जिल्ला प्रशासन कार्यालयको हाताभित्र स्थापना गरिएको आपलकालीन कार्य सञ्चालन केन्द्रमा राखिएको  नदीको जलस्तर देखाउने स्वचालित विद्युतीय प्रणालीले बाढी प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालालाई एकैसाथ सन्देश पठाउन सकिने व्यवस्था पनि छ ।
केन्द्रमा नेपाली प्रहरीका दुई जनालाई आवश्यक तालिम दिएर चौविसै घन्टा बस्ने व्यवस्थासमेत मिलाएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया