धरान १ असोज । मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा आफ्ना उम्मेदवारको विजय सुनिश्चित गर्न एकीकृत नेकपा माओवादीले सुनसरीका ६ वटै निर्वाचन क्षेत्रमा इन्चार्ज तोकेको छ ।
तोकिएका इन्चार्जले सम्बन्धित निर्वाचन क्षेत्रमा कमान्डरको भूमिका निर्वाह गर्नेछन् । प्रत्येक क्षेत्रमा इन्चार्जसँगै संयोजक पनि तोकिएको छ । निर्वाचनका लागि पार्टीका स्थानीयस्तरका कार्यकर्ता र पार्टीको माथिल्लो निकायसँग समन्वय तथा सहकार्य गरी पार्टी पंक्तिलाई प्रभावकारी ढंगले परिचालन गर्न यो संरचना बनाइएको पार्टीका सुनसरी कार्यवाहक इन्चार्ज केदार गुरागार्इंले बताए । इन्चार्ज र संयोजककै नेतृत्वमा सम्बन्धित क्षेत्रका अन्य दल, नागरिक समाज, विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी आफ्नो उम्मेदवारको जित सुनिश्चित गरिने उनले बताए ।
सुनसरी १ नं. क्षेत्रमा पार्टीका कोचिला राज्य सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अइन्द्रविक्रम वेघा इन्चार्ज र राज्य सदस्य तथा किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अशोक राईलाई संयोजकको जिम्मेवारी दिइएको छ । क्षेत्र नं. २ मा राज्य सदस्य केशर प्रधान इन्चार्ज र अर्का राज्य सदस्य बहादुरसिंह तामाङलाई संयोजक तोकिएको छ । ३ मा राज्य सदस्य रामजन अली इन्चार्ज र अर्का राज्य सदस्य खगेन्द्र चौधरीलाई संयोजक तोकिएको गुरागाईंले जानकारी दिए ।
यसैगरी क्षेत्र नं. ४ मा राज्य सदस्य राम कोइराला इन्चार्ज र राज्य सदस्य जुरिलाल मोची संयोजक तोकिएका छन् । क्षेत्र नं. ५ मा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सल्लाहकार नन्दनकुमार दत्त इन्चार्ज र राज्य सदस्य दिल मोहम्मद संयोजक तोकिएका छन् । क्षेत्र नं. ६ मा भने राज्य सदस्य राजन कटुवाललाई इन्चार्ज र राज्य सदस्य सपना परियारलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघिको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा मात्र विजयी हासिल गरेको पार्टीले यस निर्वाचनमा ६ वटै क्षेत्रमा जित्ने दाबी गरेको छ । गत निर्वाचनमा सुनसरी १ बाट किरण राईले जितेका थिए । राई अहिले नेकपा–माओवादीको कोचिला राज्य सहइन्चार्ज छन् । राईले सुनसरी १ बाट जित्दा हाल पार्टीका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बोले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । मेन्याङ्बो हाल यसै क्षेत्रवाट उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिक्रिया