काठमाडौं, १ असोज । कांग्रेस सभापति सुशील कोइरालाको उच्चस्तरीय राजनीतिक समितिका संयोजकको एकमहिने कार्यकाल सोमबार मध्यरातमा समाप्त भएको छ । कांग्रेस सभापति कोइरालाको कार्यकाल समाप्त भएसँगै उच्चस्तरीय समितिको संयोजकको जिम्मेवारी एमाले अध्यक्ष झलनाथ खनालले सम्हाल्दै छन् ।
कोइरालाले यसपटक आफ्नो कार्यकालमा केही सकारात्मक काम गरेको कांग्रेस नेताहरूको दाबी छ । दलीय वार्ता भंग गरी सडक आन्दोलनमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई पुन: वार्तामा ल्याउन कोइरालाको कार्यकाल सफल भएको उनीहरू बताउँछन् ।
गोलमेच सम्मेलनमा सैद्धान्तिक सहमति गरेको उच्चस्तरीय समितिले सो मागलाई पूरा गर्न नसक्ने जनाएपछि पुन: नेकपा–माओवादी र उसको नेतृत्वमा रहेको मोर्चा सडक अन्दोलनमा पुगेको थियो । मोर्चाले समितिसँग वार्ता नगर्ने चेतावनीसमेत दिएको थियो । यद्यपि, कोइरालाको प्रयासमा मोर्चालाई पुन: वार्ता प्रक्रियामा ल्याएर सराहनीय कार्य गरेको कांग्रेसले जनाएको छ ।
नेकपा–माओवादीले अघि सारेका मागलाई वार्ताका माध्यमबाट पूरा गर्न लागिपरेका कोइरालाले माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले ४ मंसिरका लागि निर्धारित संविधानसभा चुनावको मिति एक वा दुई सातापछि सारेर भए पनि नेकपा–माओवादीलाई चुनावमा सहभागी
गराउने प्रयास गरेका थिए । उनले चुनाव केही साता सार्ने निर्णयलाई कांग्रेसको अनौपचारीक बैठकबाट अनुमोदन पनि गराइसकेका थिए । तर, उक्त निर्णयको प्रतिकूल हुने गरी आइतबार साँझ उच्चस्तरीय समितिको बैठकले माओवादी मोर्चाले राखेको चुनाव सार्ने र सरकार परिवर्तनको माग अस्वीकार गरेको थियो । कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पटक–पटक भेटेका थिए ।
उनले अघिल्लोपटक समितिको नेतृत्व लिएका बेला कार्यकाल महत्त्वपूर्ण काम नगरी नै गुज्रिएको थियो । एमाओवादी र एमाले नेताहरूले पनि कोइरालाको अघिल्लो कार्यकालभन्दा यसपटक धेरै महत्त्वपूर्ण राजनीतिक पहल भएको स्वीकार गर्छन् ।
प्रतिक्रिया