रेग्मीले नमान्दा अड्चन

Khilraj-Regmi'sकाठमाडौं, १ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने राजनीतिक दलहरूको आग्रह अस्वीकार गरेको खुलासा भएको छ ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिई संविधानसभा चुनावमा भाग नलिने अडान लिएपछि उक्त प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दलका नेताहरूले उनीसमक्ष पुर्‍याएका थिए । अध्यक्ष रेग्मीले भने प्रधानन्यायाधीश पदबाट राजीनामा दिन अस्वीकार गरेको खुलासा नेताहरूले सोमबार मोर्चासँगको बैठकमा गरेका हुन् । सोमबारकै बैठकमा माओवादीले रेग्मीको राजीनामाबारे अडान लिएको थियो ।
स्रोतका अनुसार नेताहरूले अध्यक्ष रेग्मीलाई सामूहिक भेटेर नेकपा–माओवादीले राजीनामाका सम्बन्धमा राखेको अडानबारे जानकारी गराएका थिए । त्यसपछि उनले राजीनामा आफूलाई स्वीकार्य नभएको बताएका थिए । ‘सहमतिका लागि राजीनामाबाहेक अन्य विषयमा छलफल गर्नुहोस् तर म राजीनामाको विषयमा सहमत छैन,’ रेग्मीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले भने दलहरूले औपचारिक रूपमा अध्यक्ष रेग्मीसमक्ष राजीनामाको प्रस्ताव लगेको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘बैठकमा रेग्मीसमक्ष राजीनामाको प्रस्ताव गरेको र त्यसलाई रेग्मीले अस्वीकार गरेको भन्ने कुरा आएको छ,’ श्रेष्ठले सौर्यसँग भने, ‘तर, औपचारिक रूपमा रेग्मीसमक्ष प्रस्ताव गएकोबारे मलाई जानकारी छैन ।’
नेकपा–माओवादीका सचिव तथा ३३ दलीय कार्यदलका संयोजक देव गुरुङले समितिमा आबद्ध दलका नेताहरूले अध्यक्ष रेग्मीलाई भेटेर प्रधानन्यायाधीश पदबाट राजीनामा दिन आग्रह गरेको भए पनि रेग्मीले त्यसलाई अस्वीकार गरेको जानकारी बैठकमा गराएको बताए । ‘उहाँहरूले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई भेटेर प्रधानन्यायाधीश पदबाट राजीनामा दिन आग्रह गरेको भने पनि रेग्मी सहमत नभएपछि राजीनामा गराउन नसकेको बताउनुभएको छ,’ संयोजक गुरुङले भने, ‘हामीले प्रधानन्यायाधीश पदबाट रेग्मीको राजीनामाविना चुनावमा जान नसकिने बतायौँ ।’
समितिमा आबद्ध दलहरूले रेग्मीको राजीनामा पनि गराउन नसकिने र मंसिरको चुनाव पनि सार्न नसकिने अडान राखेपछि माओवादीले त्यसलाई अस्वीकार गरेको थियो । चैतमा चुनाव गर्नुपर्ने माग राख्दै आएको माओवादी मिति सार्न लचिलो भए पनि रेग्मीको राजीनामामा भने टसको मस देखिएन । माओवादीले मंसिरमा हुने चुनावको मितिमा छलफल गर्न सकिने बताए पनि समितिमा आबद्ध दलले रेग्मीको राजीनामा र चुनाव दुवै सार्न नसकिने बताएपछि वार्ता बिफल भएको हो ।
एकीकृत माओवादी नेता श्रेष्ठले बैठकमा माओवादीले बहिस्कारको कार्यक्रमबाट पछि हटेर चुनावमा आउन स्वीकार गरेपछि सहमतिका लागि प्रधानन्यायाधीशको राजीनामा गराएर भए पनि सहमति खोज्नुपर्ने बताएको स्रोतको दाबी छ । श्रेष्ठले नेकपा–माओवादीको मागलाई हल्का रूपमा लिए गम्भीर गल्ती हुने भन्दै सहमतिमा लचिलो हुन पनि बैठकमा अन्य दलका नेताहरूसँग आग्रह गरेका थिए ।
बैठकमा माओवादीले गोलमेच सम्मेलन गरे सर्वाधिकार सम्पन्न गर्नुपर्ने बताएको थियो । दलहरूले सर्वाधिकार सम्पन्न गोलमेच पनि गर्न नसकिने भन्दै अस्वीकार गरेका थिए ।
मोर्चा र समितिको बैठकमा नेकपा–माओवादीले प्रधानन्यायाधीश पदबाट रेग्मीले राजीनामा दिए उनलाई संविधानको धारा ३८ को १ अनुसार प्रधानमन्त्रीमा स्वीकार गर्ने बताए पनि अन्य दलले त्यसलाई पनि अस्वीकार गरेका थिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानन्यायाधीस पदबाट रेग्मीलाई राजीनामा गराउँदा समग्र राजनितिक प्रक्रियामै असर पर्ने भएकाले मोर्चाको मागमा सहमति हुन नसकेको प्रतिक्रिया दिए ।
‘उहाँहरू आज (सोमबार) पनि खिलराज रेग्मीकै राजीनामामा अड्किनुभयो,’ उपसभापति पौडेलले भने, ‘हामीलाई पनि खिलराजको राजीनामा गराउन अफ्ठेरो भयो ।’
गुरुङले सोमबारको बैठकमा सहमति नभए पनि छलफललाई भने निरन्तरता दिने बताए । बैठक कहिले बस्ने भन्नेबारे भने कुनै टुंगो लागेको छैन । एमाओवादी नेता श्रेष्ठले त वार्ता नै भंग भएको प्रतिक्रिया दिए । ‘नेकपा–माओवादीको मागमा थोरै लचिलो नहुँदा वार्ता भंग भयो, यसले देशलाई ठूलो नोक्सानी हुन्छ,’ उनले भने, ‘रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराएर भए पनि उहाँहरूलाई चुनावमा ल्याउनुपथ्र्यो ।’
एमाले नेता रघुजी पन्तले ४ मंसिरका लागि घोषित चुनावबारे माओवादीको स्पष्ट धारणा नआएको उल्लेख गर्दै बरु रेग्मीको राजीनामालाई मात्र प्राथमिकतामा राखेपछि सहमति हुन नसकेको बताए ।
राष्ट्रपतिले डा. रामवरण यादवले सहमतिको लागि दिएको दुई दिनको समयसीमा सोमबार सकिएको छ । चुनावी मन्त्रिपरिषद् र उच्चस्तरीय समितिले सहमतिका लागि गरेका प्रयास सार्थक हुन नसकेपछि राष्ट्रपतिले सर्वदलीय बैठक डाकेका थिए । शुक्रबार र आइतबार दुईपटक सर्वदलीय बैठक बसेको थियो । बैठकमा ठोस सहमति नजुटेपछि राष्ट्रपति दलहरूलाई सोमबारको म्याद दिएका थिए ।
समिति र मोर्चाबीच सोमवार नयाँ बानेश्वरमा बसेको बैठकमा सहमति नभएपछि दुवै पक्ष त्यसबारे जानकारी गराउन राष्ट्रपति भवन शितलनिवास पुगेका थिए । उच्चस्तरीय समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच आइतबार पनि राष्ट्रपतिको पहलमा शितलनिवासमा बैठक बसे पनि सहमति भने हुन सकेको थिएन ।
यसअघि माओवादीको सोमबार नै बसेको पोलिटब्युरो बैठकले चारबुँदे माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने निर्णय गरेको थियो । पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको बैठकले रेग्मीको राजीनामा र चुनावको मिति सार्न दलहरू सहमत नभएसम्म चुनावमा सहभागी नहुने निर्णय गरेको हो ।
माओवादी प्रवक्ता पम्फा भुसालले पोलिटब्युरो बैठकले पार्टीले यसअघि नै अघि सारेको चार बुँदे प्रस्तावबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिइन् । ‘राजनीतिक समिति चुनावको मिति सार्न र नयाँ सरकार गठन प्रक्रियामा जान सहमत नहुँदासम्म हामीले पनि चुनावमा नजाने निर्णय गरेका छौँ,’ प्रवक्ता भुसालले सौर्यसँग भनिन् ।
बैठकले दलहरूसँग वार्ता जारी रहे पनि सहमति हुने सम्भावना कम रहेको भन्दै आन्दोलनको तयारीमा लाग्ने निर्णय पनि गरेको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया