अधिकारीमाथि अनुसन्धान गर्न फेरि म्याद

चितवन, १ असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथि अनुसन्धानका लागि फेरि म्याद थप गरिएको छ । अधिकारीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले अदालतमा पेस गरेपछि १० दिन म्याद थप भएको हो ।
जिल्ला अदालत चितवनले सोमबार अधिकारीमाथिको अनुसन्धानका लागि जिल्ल प्रहरीलाई १० दिन थप म्याद उपलब्ध गराएको हो । काठमाडौंमा पक्राउ परेका अधिकारीलाई २१ भदौमा चितवन ल्याएर अनुसन्धान थालिएको थियो । अदालतले दिएको १० दिनको म्यादभित्र अनुसन्धान पूरा नभएकाले थप म्याद मागेको चितवन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
अधिकारी हत्या अभियोगमा किटानी जाहेरी परेका अन्य १० जना भने पक्राउ परेका छैनन् । अधिकारीलाई पहिलोपटक चितवन प्रहरीले २३ भदौमा जिल्ला अदालतबाट १० दिन म्याद थप गराई अनुसन्धान प्रक्रिया जारी राखेको थियो । प्रहरीले अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको बताए पनि पीडित परिवारका आफन्तले भने प्रहरीले खोजीमा चासो नदेखाएको बताएका छन् ।
कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामाया लामो समय आमरण अनशन बसेपछि दबाबका कारण सरकारले रामप्रसादलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएलगत्तै अधिकारी दम्पतीले अनशन तोडेका थिए । चितवनको रत्ननगरमा हजुरबुबा र हजुरआमा भेट्न आएका अधिकारीको अपरहणपछि २०६१ जेठ २४ गते हत्या भएको थियो ।

प्रतिक्रिया