एमाले अखिलमा नेता तानातान

akhil 1काठमाडौ, १ असोज । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि नेता तानातानको होड चलेको छ । अध्यक्ष पदको दाबीमा उत्रिएका निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव किशोरविक्रम मल्ल दुवैले आआफू बलियो रहेको दाबी गरेका छन् ।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि ३ असोजदेखि राजधानीमा हुन लागेको २१औँ राष्ट्रिय महाधिवेशनको सँघारमा नेता तानातान भइरहेको छ । त्यसो त लम्साल र मल्ल मात्र होइन, निवर्तमान उपाध्यक्षहरू सुधीर शाह, नवीना लामा, नवराज पौड्याल र भीम राईले पनि नेतृत्वका लागि आआफ्नो पक्षमा लबिङ गर्दै आएका छन् । तर, उनीहरूले लम्साल वा मल्लमध्ये एक प्यानललाई समर्थन गर्ने स्रोतको दाबी छ ।
एक विद्यार्थी नेताका अनुसार मल्लले राई र पौड्याललाई तथा लम्सालले लामा र शाहलाई आआफ्नो प्यानलमा ल्याउने प्रयास गरिहेका छन् । राई र लामा भने अध्यक्ष पदको दाबीमै अडिग छन् । लम्साल समूह आफ्नो प्यानलमा आए लामालाई वरिष्ठ उपाध्यक्ष वा महासचिवमध्ये एक पद दिने पक्षमा देखिएको छ । मल्ल समुह राईलाई उपाध्यक्ष दिन तयार देखिएको छ । पौड्याललाई चित्त बुझाउने मल्ल समूहको दाबी छ । ‘मेरो भीम राईसँग पटक–पटक कुराकानी भएको छ,’ मल्लले भने, ‘उनलाई ल्याउन अन्तिमसम्म प्रयास जारी रहन्छ ।’
लम्साल समूहले त लामा र शाह आफ्नो प्यानलमा आइसकेको दाबीसमेत गरेको छ । ‘सबै कुरा मिलिसकेको छ,’ लम्सालले भने, ‘नवीना लामा हाम्रो प्यानलबाट उपाध्यक्ष वा महासचिव लड्ने सम्भावना छ ।’
लम्साल समूहले लामा र शाह प्यानलमा आए महाकाली सेती, भेरी कर्णाली बागमती, पल्लो बागमती, तल्लो सगरमाथा, धवलागिरि र जनकपुरमा पकड हुने दाबी गरेको छ । मल्ल समूहको पक्षमा भने अमृत साइन्स, महेन्द्ररत्न, नेपाल ल क्याम्पसलगायतका सभापति छन् ।
लामाले लम्साल नै आफ्नो समूहमा आउने दाबी गरिन् । उनले पार्टी अध्यक्ष झलनाथ खनालको समर्थन आफ्नो प्यानललाई रहेको दाबी गर्दै आएकी छन् ।
राई र पौड्यालको समर्थन रहे लुम्बिनी, राप्ती, नारायणी, गण्डकी, कोसी, पूर्वी तथा पश्चिम बागमती, माथिल्लो र तल्लो सगरमाथामा आफ््नो पकड रहने मल्ल समूह आँकलन छ । मेची र उपत्यकामा भने दुवै पक्षले पकड रहेको दाबी गरेका छन् । उपत्यकामा पकड रहेको समूहले चुनाव जित्ने देखिन्छ । मुलकका अधिकांश ठूला क्याम्पसहरूका सभापति आफ्नो पक्षमा रहेको मल्लको दाबी छ ।
लम्साल समूहलाई पार्टी अध्यक्ष खनाल र उपाध्यक्ष वामदेव गौतमसँगै पूर्वअखिल अध्यक्षहरू योगेश भट्टराई, रवीन्द्र अधिकारी, अरुण नेपाल र रूपनारायण श्रेष्ठ, ठाकुर गैरे, रामकुमारी झाक्रीलगायतको समर्थन छ । मल्ललाई वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीसँगै अखिलका पूर्वअध्यक्षहरू राजेन्द्र राई, हिक्मत कार्की, खिमलाल भट्टराई, वर्तमान अध्यक्ष माधव ढुंगेललगायतको समर्थन छ ।
कसको प्यानलमा को ?
लम्साल प्यानलबाट उपाध्यक्षमा गुणराज आचार्य, धु्रव राई, दीपक गौतम, नवराज पौडेलेको नाम चर्चामा छ । महासचिवमा थोमस बाँस्तोला तथा सचिवमा अब्दुल हुसेन खाँ, सन्तोष नेपाली, राधिका खतिवडा, मेनुका पछाई, कमला बोहरा, उषाकिरण तिमिल्सेना, गौतम राईलगायतको चर्चा छ । कोषाध्यक्षमा नीलकण्ठ आचार्यले दाबी गरेका छन् ।
लक्ष्मी जोशी, श्याम बजगाई, ज्ञानु भण्डारी, लोकेश निरौला, रन्जु ज्ञवाली, आरती लामा, सुदिप शर्मा दिनेश आचार्य लगायत छन् ।
मल्ल प्यालनबाट उपाध्यक्षमा नवराज पौडेल, रश्मी आचार्य, बच्चन सिंह, राजकुमार राई, सिपी घर्ती मगरलगायतको दाबी छ । महासचिवमा रचना खड्काको चर्चा छ । सिंहले महासचिवमा पनि दाबी गरेका छन् । सचिवमा सुनीता बराल, दीपा शर्मा, बाबुराम पन्थी, जीवन राई, महेश बर्तौला, ऐन महर, विवेक श्रेष्ठलगायतको चर्चा छ । सचिवालयमा तुलसीराम मैनाली, झपिन्द्र खत्री, अशेष घिमिरे, छवि चुडाल, सम्झना अधिकारीलगायतको चर्चा छ ।
मल्लसग कुरा नमिले राईले उपाध्यक्षमा महेश पन्त, सिपी घर्ती मगर र खुसीलाल चौधरी उठाउने घोषणा गरिसकेका छन् । उनले महासचिवमा सरोज यादव र सचिवमा ऐन महरालाई अघि सारेका छन् ।
लामाले लम्सालसग कुरा नमिले उपाध्यक्षमा खगेन्द्र खनाल, विष्णु चन्द, सिपी घर्ती मगर, चिरञ्जीवी पौडेल र महासचिवमा दिपक गौतमलाई लिएर प्यानल बनाउने देखिएको छ । कोषाध्यक्षमा कमल बस्नेतको चर्चा चलेको छ ।

प्रतिक्रिया