मंसिरमै चुनावको वातावरण बनाउन एमाले नेतृत्वलाई सुझाव

काठमाडौं, ३१ भदौ । एमालेको संविधानसभा संसदीय विभागले विपक्षमा रहेका राजनीतिक दललाई सहमतिमा ल्याएर ४ मंसिरमै संविधानसभा चुनाव सम्पन्न गर्ने वातावरण बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।
विभाग प्रमुख सुवास नेम्वाङको अध्यक्षतामा आइतबार राजधानीमा बसेको बैठकले यस्तो सुझाव दिएको हो । ‘चुनावी प्रक्रियामा असहमत पक्षलाई समेत सहमतिमा ल्याई मंसिर ४ गतेका लागि तोकिएकै समयमा संविधानसभा चुनाव सम्पन्न गर्ने वातावरण बनाउन सरकार, उच्चस्तरीय राजनीतिक समिति र सम्पूर्ण राजनीतिक पक्षलाई आग्रह गर्न विभाग पार्टीलाई सुझाव दिन्छ,’ बैठकपछि विभाग सचिव रामनाथ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीको चुनावी घोषणापत्रमा ०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनले स्थापित गरेका लोकतान्त्रिक मूल्यमान्यता, पहिलो संविधानसभाले गरेका निर्णय, पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालगायत महत्त्वपूर्ण उपलब्धिलाई समावेश गर्नसमेत सुझाव दिएको छ । त्यस्तै विभागले संविधान निर्माणका सन्दर्भमा दलहरूबीच भएका सहमतिप्रतिको प्रतिबद्धतालाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गर्न पनि सुझाव दिएको छ । संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न प्रत्यक्षतर्फ महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी निश्चित क्षेत्र निर्धारण गर्न आवश्यक संवैधानिक व्यवस्थाका लागि सरकार, उच्चस्तरीय राजनीतिक समिति र सम्पूर्ण दललाई आग्रह गर्न पनि सुझाव दिइएको विज्ञप्तिमा उल्लेख छ ।
तीन उम्मेदवारको नाम सिफारिस
बैठकले विभागका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारीका लागि तीन जना उम्मेदवार सिफारिस गरेको छ । सिफारिसमा पूर्वसभासद्हरू सपना प्रधान मल्ल, शान्तिदेवी चमार र सोनाम छेजुङ लामाको नाम परेको छ ।

प्रतिक्रिया