चर्पी नभएका होटलमा चिया–नास्ता नखाने

Charpiधनगढी, ३१ भदौ । बझाङका पत्रकाले चर्पी नभएका होटलमा चियानास्ता नखाने भएका छन् । जिल्लालाई २०७० सालभित्र खुला दिसामुक्त घोषणा गर्ने अभियान सफल पार्न चर्पी नभएका जिल्लास्थित होटलमा उनीहरूले चियानास्ता नखाने निर्णय गरेका हुन् । उनीहरूले आइतबार सदरमुकाम चैनपुरमा भेला भई यस्तो निर्णय गरेका हुन् ।
सदरमुकाम चैनपुरलगायतका अन्य स्थानीय बजारमा चर्पी नभएका होटलको संख्या धेरै भएको तथ्यांक आएपछि यस्ता होटल व्यवसायीलाई चर्पी बनाउन नैतिक दबाब दिने उद्देश्यले चियानास्ता नखाने निर्णय गरेको पत्रकार कृष्ण जोशीले बताए ।
‘जिल्लाले थालनी गरेको अभियान सफल पार्नु पत्रकारको पनि दायित्व भएकाले यस्तो अभियान चलाएका हौँ,’ जोशीले भने, ‘अबदेखि जो– जहाँ चियानास्ता र खाना खाए पनि होटलवालालाई चर्पी भए/नभएको सोध्ने र चर्पी नभएको होटलमा केही खाने छैनौँ ।’
यसै सन्दर्भमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले युनिसेफको सहयोगमा आइतबार जिल्लास्थित पत्रकारसँग सरसफाइसम्बन्धी अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ५ बुँदे सरसफाइसम्बन्धी प्रतिबद्धता पत्र जारीसमेत गरेको जोशीले जानकारी दिए ।
प्रतिबद्धता पत्रमा सरसफाइ अभियानलाई सफल पार्न पत्रकारले समाचारमा सरसफाइलाई उच्च प्राथमिकता दिने, समाचार संकलन गर्ने क्रममा सम्पर्कमा आएका व्यक्तिसँग समाचारको विषय जुनसुकै भए पनि तपाईंको घरमा चर्पी छ कि छैन भनेर सोध्ने, स्थानीय एफएमले चलाउने फोन इन कार्यक्रममा प्रत्येक टेलिफोन सम्पर्कमा आएका व्यक्तिसँग चर्पी भए नभएको बारे सोध्ने, सार्वजनिक पद धारण गरेका व्यक्तिले कातिक १ गतेसम्म पनि चर्पी नबनाएको भेटिएमा सञ्चारमाध्ययममा नाम प्रकाशन/प्रसारण गर्ने  छन् ।
पत्रकारको यस्तो निर्णयले जिल्लालाई निर्धारित समयमा खुला दिसामुक्त गर्न ठूलो सहयोग पुग्ने जिल्ला सरसफाइ समन्वय समितिका संयोजक तथा बझाङका स्थानीय विकास अधिकारी र युवराज कटेलले बताए ।

प्रतिक्रिया