भैरहवा, भदौ ३१ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले दण्डहीनता, भ्रष्टाचार, अकर्मण्यता नेपाल प्रहरीबाट क्षम्य नहुने बताएका छन् ।
रुपन्देहीको सूर्यपुरा स्थित इलका प्रहरी कार्यलय भवनको समुद्घाटन गर्दै आइजिपी रानाले दण्डहीनता, अकर्मयण्यता र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन सबै प्रहरीका अधिकृत एवं जवानलाई निर्देशन दिए । प्रहरीहरूलाई निर्देशन दिँदै उनले भने, ‘म सबै प्रहरी अधिकृत एवं जवानलाई निर्देशन दिन्छु– यी तीनवटा कुरामा शून्य सहनशीलता पूर्ण रूपमा लागू गर्नुहोस् ।’
आइजिपी रानाले प्रहरी भनेको शासक नभएर सेवक भएको बताउँदै सोहीअनुसार जनताको सेवा गर्न पनि निर्देशन दिए । उनले भने, ‘प्रहरी कार्यालयमा कोही त्यसै आउँदैनन् काम लिएर आएका हुन्छन्, त्यसैले त्यस्ता सेवाग्राहीसँग सालीन र नम्र ढंगले प्रस्तुत भएर सेवा गर्नुहोस् ।’
कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी सुरेन्द्रबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी सधैँ तयार भएको जनाउँदै सूर्यपुरा इलाका प्रहरी कार्यालय निर्माण तथा सञ्चालनमा स्थानीयको सहयोग अतुलनीय भएको बताए । उक्त अवसरमा रुपन्देहीका प्रमुखजिल्ला अधिकारी बालकृष्ण पन्थीले जनताले जसरी प्रशासन र सुरक्षा फौजलाई विश्वास गरेका छन् त्यो विश्वासमा आफूहरूले कहिल्यै कुठाराघात नगर्ने बताए । प्रजिअ पन्थीले राजनीति होस् वा अन्य समूहको खोल ओढेर आउने संगठित अपराधलाई नियन्त्रण र निर्मूल पार्न पनि रुपन्देहीको सुरक्षा संयन्त्र क्रियाशील भएको जनाएका थिए । रुपन्देहीका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले सामाजिक बेथिति, तस्करीलाई निर्मूल पार्ने अभियानमा प्रहरी लागेको बताउँदै रुपन्देही प्रहरीको सक्रियताकै कारण भन्सार राजस्वदर ८० प्रतिशतबाट बढेर १४६ प्रतिशत पुगेको बताए ।
प्रहरी निरीक्षक केशरबहादुर कार्कीको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय समाजसेवी तथा अगुवा टीकाराम शर्मा, दुर्गा आचार्यले सूर्यपुरा इलाका प्रहरी कार्यालय मातहत विभिन्न ठाउँमा अझै सुरक्षा युनिट राख्न अनुरोध गरेका थिए । उनीहरूले सूर्यपुरा इलाका प्रहरी कार्यालयको शुभारम्भसँगै समाजमा शान्तिसुरक्षाको पूर्ण अनुभूति भएको पनि बताए ।
कार्यक्रममा डिएसपी इन्जिनियर ईश्वर थापाले परियोजना प्रतिवेदन पेस गरेका थिए ।
यसअघि आइजिपी रानाले नवनिर्मित इलाका प्रहरी कार्यालय सूर्यपुरा भवनको उद्घाटन रिबन काटेर गरेका थिए । शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्ति कोषको बजेटबाट कुल १ करोड ११ लाख ४० हजार २ सय ७२ रुपियाँको लागतमा निर्मित उक्त प्रहरी कार्यालयमा महिला तथा पुरुष हिरासत, अनुसन्धान कक्ष, ६ वटा शौचालय, अधिकृत क्वार्टर, भान्साघर, ब्यारेक अलगअलग र अपांगमैत्री छन् ।
भवन उद्घाटन समारोहमा अंचल प्रहरी कार्यालय प्रमुख एसएसपी मिङमार लामा, सरकारी न्यायाधिवक्ता मोहन सागर बस्याल, नेपाली सेनाका बाहिनीपति सहायक रथि राजेन्द्र कार्की, नेपाली सेनाका प्रमुख सेनानी, इलाका प्रहरी कार्यालयका डिएसपी राजकुमार बैदवार, जिप्रका डिएसपी दीपक न्यौपानेलगायत राजनीतिक दलका प्रमुखको उपस्थिति थियो ।
सूर्यपुरा इलका प्रहरी कार्यालयले सूर्यपुरा, धमौली, विष्णुपुरा, साडी र जोगडा गाविस हेर्ने गर्दछ भने कम्हरिया गाविसको वडा नम्बर १ र २ , गजेडीको ७, ८ र ९ वडा पनि यसको कार्य क्षेत्र भएको सो इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक केशरबहादुर कार्कीले बताए । ३८ जनाको दरबन्दी रहेको सो इप्रकामा हाल २० जना प्रहरी कार्यरत छन् ।
भवनको उद्घाटन समारोहमा सो क्षेत्रका सयौँ स्थानीय बासिन्दा तथा संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका प्रमुख एवं महानुभावको उपस्थिति थियो । सो अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने व्यवसायी कृण्णप्रसाद शर्मा, रामशंकर कान्दुलगायतलाई आइजिपी रानाले सम्मान गरेका थिए ।
प्रतिक्रिया