कुन उद्देश्यको भ्रमण ?

Indian-Foreign-Secretaryकाठमाडौं, ३१ भदौ । शनिबार नेपाल भ्रमणमा आएकी भारतीय विदेश सचिव श्रीमती सुजथा सिंह आइतबार दिनभर भेटवार्तामा व्यस्त रहिन् । भारतीय विदेश सचिव सिंहले राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित नेपाल सरकारका उच्चपदस्थ व्यक्तिहरूसँग भेट गरिन् । आइतबारै उनले गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग पनि छुट्टाछुट्टै भेट गरिन् । शनिबार मात्रै प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटेकी सिंहले आइतबार उच्चपदस्थ व्यक्तिसँग भेट गर्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।
उनको भेटलाई राष्ट्रपति कार्यालयमा भइरहेको सर्वदलीय बैठक र संविधानसभाका सन्र्दभमा भारतीय चासोका रूपमा व्याख्या गर्न थालिएको छ । ‘राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलहरू एक ठाउँमा बसेर जब छलफल सुरु गर्छन्, त्यही बेला भारतको चासो निकै बढेर आउँछ,’ राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘सिंहको भ्रमण यसकै निरन्तरता हो ।’
सिहंको औपचारिक भेटघाटको कार्यक्रम आइतबारदेखि तय गरिएको भए पनि उनले शनिबारै प्रमुख राजनीतिक दलका नेताहरूसँग चुनाव र समसामयिक राजनीतिक विषयमा छलफल गरिसकेकी थिइन् । शनिबार उनले कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता
गरेकी थिइन् ।
सिंहले के उद्देश्यका साथ नेपाल भ्रमण गरिन् भन्ने प्रस्ट हुन सकेको छैन । तापनि उनले नेपाल सरकारका प्रमुख व्यक्ति र राजनीतिक दलहरूका शीर्षस्थ नेताहरूसँग भेट गरिरहेकी छिन् । नेपालमा आफ्नो प्रभाव कायम राख्ने प्रकृतिको निर्णय गराउन उनी नेपाल भ्रमणमा रहेको विश्लेषक खनालको ठम्याइ छ । ‘एउटा दललाई निर्वाचन प्रक्रियामा सहभागी गराउने या नगराउने विषयमा मात्र उनको भ्रमण केन्द्रित छैन,’ उनले भने, ‘आफ्ना अशिंयार मान्दै आएका दलहरूबाट निर्णय प्रभावित गराउने यो भ्रमणको भित्री उद्देश्य हो ।’
विदेश सचिव सिंह के उद्देश्य बोकेर नेपाल भ्रमणमा आइन् ? औपचारिक भ्रमण शनिबारदेखि थियो या आइतबार ? परराष्ट्र मन्त्रालयले यसको स्पष्ट जानकारी दिन आनाकानी गरेको छ । सिंहको नेपाल भ्रमणका विषयमा परराष्ट्रसचिव अर्जुन थापाले प्रतिक्रिया दिन अस्वीकार गरे ।
सिंहले राष्ट्रपति, अन्तरिम चुनावी सरकारका अध्यक्ष, सुरक्षा जिम्मेवारी लिएका गृहमन्त्री, प्रमुख निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटमा सर्वदलीय बैठकका विषयमा चासो मात्र राखिनन् कि ४ मंसिरमै चुनाव गराउन सुझाइन् । ‘उनको यो चासो सर्वदलीय बैठकलाई प्रभावित पार्ने नै देखिन्छ,’ खनालले भने, ‘नेपालका राजनीतिक दलहरू साझा मुद्दामा एक हुन लाग्दा उनीहरूलाई भारतले प्रभावित पार्दै आएको छ ।’
राष्ट्रपति कार्यालयमा राष्ट्रिय चासोको विषयलाई लिएर सर्वदलीय बैठक भइरहेका बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक बाहिरिएका थिए । बैठक बसेको एक घन्टामै उनी बाहिरिनुको मुख्य कारण थियो सचिव सिंहलाई भेट्नु । दाहालले पनि सर्वदलीय बैठक र आगामी निर्वाचनका विषयमा छलफल गरेको एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया