डडेल्धुरामा संयुक्त लालपुर्जा निर्माण

डडेल्धुरा, ३० भदौ । डडेल्धुरा जिल्लामा महिला तथा पुरुष दुवैको नाममा लालपुर्जा निर्माण कार्य सुरु भएको छ ।
भूमिमा महिलाको अधिकार कायम गर्न राष्ट्रिय भूमिअधिकार मञ्चले आधा पुरुष–आधा नारी, जमिनमा हक बराबरी भन्ने नाराका साथ डडेल्धुरा जिल्लामा संयुक्त लालपुर्जा निर्माण अभियान थालनी गरेको छ । देशैभरी सञ्चालन गरिएको संयुक्त जग्गा धनी लालपुर्जा अभियानअन्तर्गत डडेल्धुरामा एकै दिन १० जोडीले संयुक्त जग्गा धनी लालपुर्जा लिएका छन् ।
भूमिअधिकार मञ्च डडेल्धुरा जिल्लाले विभिन्न स्थानमा गई संयुक्त लालपुर्जाको बारेमा गरेको छलफल कार्यक्रमले संयुक्त लालपुर्जा बनाउनेको संख्या बढेको हो । संयुक्त लालपुर्जा निर्माणले समाजमा सकारात्मक सन्देश दिनुका साथै महिलामाथि हुने हिंसा अन्याय, शोषण र विभेद घटने भूमिअधिकार मञ्चका नारायणराम सार्कीले बताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०६७/०६८ को बजेट भाषणबाट श्रीमान्को नाममा भएको घरजग्गामा श्रीमतीसमेतको संगोलनामा गरी जग्गा धनीपुर्जा बनाउन एकसय रुपियाँ मात्र लाग्ने नीति ल्याएपछि संयुक्त लालपुर्जा बनाउने अभियान सुरु भएको हो । संयुक्त लालपुर्जा बनाउनेहरूमा डडेल्धुराको जोगबुडा–२ शरगौडा, ठण्डजाला, रामपुरका मोहन सिंह साउद र रम्भा देवी साउद, गोरे साउद र हरिना देवी साउद, जोगबहादुर साउद र झुपा देवी साउद, चन्द्रबहादुर खडायत र चनमती खडायत, नरे धामी र विस्ना धामी, चन्द्रबहादुर डाँगी र कविता देवी डाँगी, खडक सिंह साउद र दुरा देवी साउद, लालबहादुर सारूमगर र तिलसरी देवी सारुमगरलगायतका रहेको भूमिअधिकार मञ्च डडेल्धुराले जनाएको छ ।
चुलो चौको गर्दै आएका ग्रामीण महिलाले चुलो चौकामा समेत आफ्नो हक नभएकोमा आज श्रीमानको मात्र हक भएको जग्गामा समेत आफ्नो अधिकार भएपछि खुसी भएका छन् । यसअघि पनि डडेल्धुरा मञ्चको पहलमा १७ जोडीले संयुक्त लालपुर्जा बनाई सकेको छ ।

प्रतिक्रिया