काठमाडौं, ३० भदौ । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ गतेका घोषित संविधानसभा चुनाव बिथोल्ने प्रयास गरे मुलुकका लागि दुर्भाग्य हुने बताएका छन् ।
राष्ट्रपतिको अगुवाईमा भएको सर्वदलीय बैठकमा नेकपा–माओवादीले ल्याएको चुनाव सार्नुपर्नेलगायत चार बँुदे प्रस्तावमा अधिकांश राजनीतिक दल सकारात्मक देखिएको भोलिपल्टै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको यस्तो अभिव्यक्ति आएको हो । जिमी राई उत्थान समाज सोलुले शनिबार मृगस्थलीमा डा. स्वामी प्रपन्नाचार्य (काले राई)को सम्मानमा आयोजना गरेको कार्यक्रममा रेग्मीले अब चुनाव कुनै शक्तिले रोक्न नसक्ने दाबीसमेत गरे ।
देशको एक मुठी माटो छातीमा राखेर राष्ट्रियताका लागि कसम खानुपर्ने बेला आएको उल्लेख गर्दै उनले राजनीतिक गतिरोधको निकासका लागि सबैले मंसिर ४ मा हुने चुनावमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । उनले निर्धारित मितिमै चुनाव गराउने प्रतिबद्धता जनाउदै भने, ‘देशको माटो छोएर भन्छु जनताको आशामा तुषारापात हुन दिनेछैन ।’
प्रतिक्रिया