फेरि टाढिए दल/माओवादी प्रस्ताव अस्वीकार

काठमाडौ, ३० भदौ । संविधानसभा चुनावलगायत विषयमा शुक्रबार मात्रै सहमतिको संकेत देखाएका राजनीतिक दल दुई दिन नबित्दै एकाएक टाढिन पुगेका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन र चुनावी प्रक्रियाका विषयलाई लिएर राजनीतिक दलहरू लामो समयदेखि विभाजित छन् । राष्ट्रपतिको आह्वानमा शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सर्वदलीय बैठकमा नेकपा–माओवादीले अघि सारेको चारबँुदे प्रस्ताव अधिकांश राजनीतिक दलले सकारात्मक रहेको बताएका थिए ।
असन्तुष्ट राजनीतिक दलका तर्फबाट नेकपा–माओवादीले अघि सारेको चार बुँदामध्ये राष्ट्रिय सहमतिको सरकार गठन र चैतमा चुनाव सार्न गरेको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेको छ । आइतबार पुन: बस्ने सर्वदलीय बैठकका लागि रणनीति तय गर्न शनिबार साँझ बसेको समितिको बैठकले मंसिर ४ का लागि तोकिएको संविधानसभा चुनाव सार्न र वर्तमान सरकार परिवर्तन गर्न नसकिने निष्कर्ष निकालेको हो ।
‘४ मंसिरको चुनाव र सरकार परिवर्तन सम्भव छैन भन्ने निष्कर्ष हाम्रो छ,’ बैठकपछि कांग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘चुनावको मिति र सरकार परिवर्तन गरे मुलुक शून्यतातिर जाने भएकाले प्रस्ताव अस्वीकार गरिएको हो ।’
बैठकले माओवादीसहितको मोर्चा चुनावमा आउने ग्यारेन्टी भए ४ मंसिरका लागि चुनावको निर्धारित मिति यथावत् राखी चुनावी प्रक्रियामा हेरफेर गर्न सकिने निष्कर्ष पनि निकालेको छ । शुक्रबारको सर्वदलीय बैठकमा माओवादी मोर्चाले चुनाव चैतमा सार्नुपर्ने, प्रधानन्यायाधीश पदबाट राजीनामा दिए खिलराज रेग्मीकै नेतृत्वमा अन्तरिम संविधानको धारा ३८ को १ बमोजिम दलीय सरकार गठन गर्न सकिनेसहित ४ बुँदे प्रस्ताव राखेको थियो ।
उक्त प्रस्ताव अस्वीकार गरे पनि उच्चस्तरीय समितिको बैठकले ४ मंसिरको चुनावमा सहभागी हुन माओवादीलाई आग्रह गरेको छ । साथै, दल दर्ता नगरेका नेकपा–माओवादीलगायत दललाई दर्ताका लागि आवश्यक लचकता अपनाउन र आवश्यक परे उम्मेदवार मनोनयनको मिति हेरफेर गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ ।
‘दल दर्ता र अन्य प्रक्रियामा नेकपा–माओवादीलाई सहयोग गर्ने कार्य अघि बढाउन आयोगलाई आग्रह गर्ने निर्णय भएको छ,’ एमाले नेता रघुजी पन्तले भने ।
समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित थिए ।
चारबुँदेबाट पछि हटिन्नँ : गुरुङ
नेकपा–माओवादीका सचिव देव गुरुङले चारबँुदे प्रस्ताव बटमलाइन भएको बताएका छन् । ‘हाम्रो बटमलाइन शुक्रबार नै राष्ट्रपतिसहितको सर्वदलीय छलफलमा पेस गरिसकेका छौँ,’ उनले सौर्यसँग dev gurung 3भने, ‘त्यसभन्दा अलिकति पनि तल झर्न सकिँदैन ।’
३३ दलीय कार्यदलका संयोजकसमेत रहेका गुरुङले विदेशीको चलखेलप्रति संकेत गर्दै हुन लागेको सहमति पनि भाडिन खोजेको प्रतिक्रिया दिएका छन् । ‘परिवर्तनलाई नरुचाउने, सहमति गर्न नदिने विदेशीले सिफारिस गरेको र उनीहरुले नै तोकिदिएको मितिमै काम गर्नुपर्ने ?’ उनले भने, ‘विदेशीले जे गर भन्छन् त्यहीँ गर्दै आएका र गर्ने राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनका कारण सहमति भाँडिन खोज्दै छ ।’

यसअघि शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले शुक्रबार राष्ट्रपतिको आह्वानमा भएको सर्वदलीय बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । ‘तर, मंसिर महिनाभरि व्यावहारिक र प्राविधिक दुवै हिसाबले संविधानसभा चुनाव असम्भव छ,’ उनले भनेका थिए ।
उनले बाह्य शक्तिको रिमोटबाट चार दल चले राष्ट्रिय सहमति पक्का रहेको बताएका थिए  । विगतका वार्ता र गोलमेच सम्मेलन पनि बाह्य शक्तिको प्रभावका कारण असफल भएको उनको भनाइ थियो ।

प्रतिक्रिया