सुदूरपश्चिमबाट तीन तेस्रो लिंगी उम्मेदवार

धनगढी, २९ भदौ । मंसिर ४ मा हुने संविधान सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट विभिन्न तीन राजनीतिक दलले तीन जना तेस्रो लिंगीलाई समानुपातिक उम्मेदवारमा सिफारिस गरेका छन् ।
यसरी तेस्रो लिंगीहरूलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सार्नेमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल राष्ट्रिय सेवा दल रहेका छन् । कांग्रेसले बाजुराबाट पार्वती रेग्मी, राप्रपा नेपालले कैलालीबाट मोनिका शाही र नेपाल राष्ट्रिय सेवा दलले बझाङबाट विनिता सिंहलाई सिफारिस गरेको हो ।
तीनैलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको एकता नेपाल निलहीरा समाजले जनाएको छ ।     धनगढीमा भएको पत्रकार सम्मेलनमा समाजकी मानवअधिकार परियोजना हेर्ने भूमिका श्रेष्ठले राजनीतिमा यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको सहभागिता र अवस्थाका बारे जानकारी दिँदै उक्त कुरा बताएकी हुन् ।
निलहीरा समाजले शुक्रबार कैलालीस्थित राजनीतिक दलहरूसँग आगामी संविधान सभामा आफ्नो हकहित र समस्या बारे छलफल पनि गरेको थियो ।

प्रतिक्रिया