राजदूतहरुलाई मर्यादामा बस्न चेतावनी

काठमाडौं, २८ भदौ । नेकपा–माओवादीले युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदूतहरुले आफ्नो कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको आरोप लगाएको छ ।
प्रवक्ता पम्फा भुसालले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर राजदूतहरुलाई आफ्नो मर्यादा नभूल्न सुझाव दिईन् । युरोपियन युनियनले बन्दको विरोध गरे पछि नेकपा–माओवादीले आपत्ति जनाएको हो ।
‘आन्दोलनको विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजदूतहरुलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौ ।’
त्यसै गरी नेकपा–माओवादीले बुद्धका विषयमा भारतीय सञ्चार माध्यममा आएका गलत सन्देशप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘गौतम बुद्ध भारतमा जन्मिएको भनेर नेपाल र नेपाली जनताप्रति आँच र आघात पुर्‍याउने समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता भुसालले भनेकी छन् ।
केही सञ्चारमाध्यमले बुद्ध भारतमा जन्मिएको गलत सन्देश दिई रहेका बेला नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया