मकवानपुरमा क्षयरोगी घट्दै

हेटौँडा, २८ भदौ । जिल्लाका विभिन्न स्वास्थ्य चौकी, उपचौकी र इलाका उपचार केन्द्रमा दैनिक स्वास्थ्यकर्मीको निगरानीमा क्षयरोगीलाई औषधि खुवाउन थालिएपछि अघिल्लो वर्षको तुलनामा अहिले क्षयरोगीको संख्या घटेको छ ।
मकवानपुर जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले २० प्रतिशतले क्षयरोगीको संख्या घटेको हो । मकवानपुरमा हाल ६ सय ५२ क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।    तीमध्ये पुरुषतर्फ ४ सय २९ तथा महिलातर्फ २ सय २३ रहेका छन् ।जिल्लामा आव ०६८/६९ मा ७ सय क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको एक तथ्यांकमा छ ।
मकवानपुरको पूर्वीक्षेत्र, फापरबारी, छतिवन, राईगाउँ, हटिया तथा मनहरी, हाँडीखोला, पदमपोखरी बसामाडी, चुरेमाई गाविस र हेटौँडा नगरपालिका क्षेत्रमा क्षयरोगबाट बढी प्रभावित रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. गणेश पौडेलले बताए ।
जिल्लाका क्षयरोग अधिकृत कपिलदेव झाका अनुसार हेटौँडा औद्योगिक क्षेत्रका केही उद्योग, प्रतिष्ठानका कामदार मजदुर, प्रशासकीय कार्यकारी र रिक्सा चालकले क्षयरोगको लक्षण देखापरे पनि रोग लुकाउने प्रवृत्तिले गर्दा जिल्लमा अझै पनि रोगी धेरै भएको जानकारी गराए ।

प्रतिक्रिया