१४ विद्यार्थी संघ संगठनहरु एकै ठाउमा

Nepal-Student-Unioinकाठमाडौं, २६ भदौ । अखिल क्रान्तिकारी, नेविसंघसहितका १४ विद्यार्थी संघ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि बिरुद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौंमा आज (बुधबार) बसेको विद्यार्थी संगठनहरुको बैठकले असोज एक गते सम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । दशै, तिहार नजिकिंदै गर्दा निगमले सर्वसाधारणलाई असर पर्ने गरेर मूल्य बृद्धि गरेको भन्दै बैठकले निन्दा पनि गरेको छ ।
कार्यक्रम अनुसार भदौ २७ र २८ गते मुलुक भरिका क्याम्पस अगाडि प्रदर्शन गर्ने, २८ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा दुई घण्टा धर्ना दिने रहेका छन् ।
त्यसै गरी भदौ ३० र ३१ एवं असोज एक गते मुलुक भरिका पेट्रोल पम्प सञ्चालन हुन नदिने निर्णय गरिएको प्रवक्ता लामिछानेले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय तत्काल फिर्ता नलिए थप आन्दोलन गर्ने संगठनहरुको चेतावनी छ ।
बैठकले पूर्वाञ्चल विश्व विद्यालयको पठन पाठन सुचारु गराउन माग गरेको छ । सरोकारवाला निकायले समस्या समाधान गरेर पठन पाठन गराउने तर्फ ध्यान नदिएको १४ विद्यार्थी संगठनहरुको आरोप छ ।

प्रतिक्रिया