काठमाडौं, २६ भदौ । प्रधानसेनापति गौरवशमशेर राणाले उपरथी बन्न अनिवार्य रहेको नेसनल डिफेन्स कोर्स (एनडिसी) गर्नका लागि नियमविपरीत सैनिक सचिव सहायक रथी ज्ञानेन्द्र रायामाझीलाई चीन पठाएका छन् । सेनामा एनडिसी वा बार कलेज ५३ वर्ष उमेरभित्र गरिसक्नुपर्ने प्रावधान भए पनि प्रधानसेनापति राणाले नियम मिची उमेर हद पार गरिसकेका सहायक रथी रायामाझीलाई चीनको नेसनल डिफेन्स युनिभर्सिटी पठाएका हुन् ।
सेनामा सहायक रथीबाट उपरथीमा बढुवाका लागि अनिवार्य एनडिसी गर्नुपर्ने प्रावधान छ । त्यस्तै, एनडिसी गर्न स्टाफ कलेज गरेको, बाहिनीको कमान्ड गरेको, स्नातक गरेको र कोर्स सकेर फर्कंदा ५३ वर्ष हुन बाँकी सैन्य अधिकारीलाई मात्र पठाउने गरिन्छ । एनडिसी पूरा गर्न करिब एक वर्षको समय लाग्छ । रायमाझीको उमेर भने अहिले नै ५३ वर्ष पुगिसकेको छ । रायमाझी १७ भदौमा उक्त कोर्स गर्न चीन पुगिसकेका छन् ।
सैनिक स्रोतका अनुसार एनडिसीमा जान अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइएलटिएस) गर्नुपर्ने प्रावधान भए पनि रायमाझीको हकमा त्यो लागू भएको छैन । उनीसँगै एनडिसीका लागि चीन गएका सहायक रथी अनुज बस्नेत र कर्मेन्द्र लिम्बूले भने भाषा परीक्षा पास गरेका छन् ।
‘उमेर हद क्रस गरिसकेका व्यक्तिलाई अन्यायमा परेको निहुँमा एनडिसीका लागि आºना नजिककालाई पठाउने निर्णय सही मान्न सकिन्न । यसले सेनामा नराम्रो परम्परा सुरु गरेको छ,’ अवकाशप्राप्त एक रथीले सौर्यसँग भने ।
सैनिक स्रोतका अनुसार यसअघि प्रधानसेनापति राणा चीन भ्रमणमा गएका बेला एनडिसीको कोटा थप्न चिनियाँ सेनालाई आग्रहसमेत गरेका थिए । त्यसपछि चीनले यसपटक नेपाली सेनालाई एनडिसीका लागि ३ वटा कोटा उपलब्ध गराएको हो ।
तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङको पालामा एनडिसी कोटामा अर्कै व्यक्तिलाई पठाएर रायमाझीलाई अन्याय गरिएको भन्दै सैनिक नेतृत्वले ‘न्याय दिन’ रायमाझीलाई चीन पठाइएको दाबी गर्दै आएको छ । रायमाझीले भने तत्कालीन सेनापति गुरुङले एनडिसीका लागि बंगलादेश जान सिफारिस गरेको भए पनि अस्वीकार गरेका थिए । उनले एनडिसी गर्न अमेरिका जान पाउनुपर्ने माग गर्दै आएका थिए ।
सैनिक प्रवक्ता सहायक रथी जगदीश
पोखरेलले रायमाझीको हकमा विशेष निर्णय गरिएको प्रतिक्रिया दिएका छन् । ‘हामीले नियम संशोधन गरेका होइनाँै तर यसअघि मर्कामा परेका कारण उहाँको हकमा विशेष निर्णय लिइएको हो,’ सैनिक प्रवक्ता पोखरेलले भने ।
यसअघि रायमाझीको ठाउँमा सहायक रथी हेम खत्रीलाई १० महिनाको एनडिसीका लागि पाकिस्तान पठाइएको थियो । खत्रीलाई पाकिस्तान पठाउँदा हालका प्रधानसेनापति राणा एनडिसी बोर्डमा अध्यक्ष थिए । खत्रीमाथि हाल सेनाले एनडिसी कोर्समा जाँदा मिति सच्याएर किर्ते गरेको आरोपमा छानबिन गरिरहेको छ । उनको उपरथीमा बढुवासमेत हुन सकेको छैन ।
सेनाको प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज) बैठकले रायमाझीलाई चीन पठाउने निर्णय गरेको थियो । पिएसओजको बैठकले निर्णय गरेपछि रक्षा मन्त्रालयले सेनाको प्रस्तावलाई स्वीकृति दिएको हो । मन्त्रालयका प्रवक्ता द्वारिका आचार्यले रक्षाले सेनाको प्रस्तावलाई रक्षाले स्वीकृति दिएको जानकारी दिए । ‘हामीले हेर्ने भनेको सैनिक ऐन हो, एनडिसीका लागि ऐनमा उमेर हदको विषय उल्लेख छैन, फेरि उहाँलाई अन्याय परेको गुनासो पनि थियो, त्यसैले हामीले पनि स्वीकृति दिएका हौँ,’ आर्चायले भने ।
गुरुङकै पालामा अन्यायमा परेका भनिएका सहायक रथी आमोदनरसिंह राणा रायामाझीभन्दा सिनियर भए पनि उनलाई भने एनडिसीका लागि पठाइएको छैन । राणालाई पनि प्रधानसेनापति राणाले एनडिसीका लागि भारत पठाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।
सहायक रथी राणा १६ बेसिकका अधिकृत हुन् भने रायमाझी १९ बेसिकका अधिकृत हुन् । रायमाझी हालै बढुवा भएका रथी पवन पाण्डेका आफन्तसमेत हुन् ।
सैनिक सचिवमा भारती
यसैबीच, प्रधानसेनापतिले सैनिक सचिवमा सहायक रथी दीपक भारतीलाई ल्याएका छन् । सैनिक सचिव रहेका ज्ञानेन्द्र रायमाझीलाई एक साताअघि एनडिसीका लागि चीन पठाइएपछि उनको ठाउँमा सेनाको १० नम्बर बाहिनीको बाहिनीपति भारतीलाई नियुक्त गरिएको हो । सेनामा सरुवा, बढुवाका साथै अन्य महत्वपूर्ण काम सैनिक सचिवले गर्ने भएकाले यसलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ ।
प्रतिक्रिया