जडीबुटी संकलनका लागि गाविस ‘रित्तै’

Jadibuti Sankalanबाजुरा, १९ भदौ । बाजुरा जिल्लाको जुकोट गाविसका स्थानीयका सथै विद्यार्थी र शिक्षक च्याउ तथा जडीबुटी संकलनमा व्यस्त भएका छन् । जडीबुटी तथा च्याउ संकलनमा सबै व्यस्त भए पछि गाविस ‘रित्तै’ भएको छ ।
आर्थ संकलनको प्रमुख स्रोतका रुपमा रहेको जडिबुटी संकलनको मौसम शुरु भएपछि उनीहरु लेकमा पाइने जडिबुटी र च्याउ संकलनमा आकर्षित भएका हुन् ।
विकट गाविसका रुपमा रहेको जुकोटका स्थानीयको प्रमुख आर्थिक स्रोत च्याउ र जडीबुटी नै हो । बर्षायाममा जडिबुटी र च्याउ संकलन हुने गरेको स्थानीय रतन शाहीले बताए । यो समयमा उनीहरु च्याउ, सतुवा समयो, सिल्पाडी, पदमचारोलगायत जडिबुटी संकलनमा निकै व्यस्त हुने गर्छन् ।
हिमाली भेगमा खेती योग्य जमिन नहुँदा स्थानीययवासी जडिबुटी बेचेरै जीवन चलाउने गर्छन् । जुकोटको मुख्य पेशा जडिबुटी र पशुपालन हो ।
गाविसका नौ वडाका स्थानीय बिहान उज्यालो नहुँदै ‘खर्च’ बोकेर जडिबुटी संकलनमा जाने गर्छन् । जडिबुटी संकलनमा युवा, युवती, बालबालिका, शिक्षक, महिला, बृद्धबृद्धा समेत जाने भएका कारण गाविसका अधिकांश घरहरु बन्द छन् । गाउँ अहिले सुनसान छ ।
जडिबुटीका लागि जुकोट र बिच्छ्यालाई खानी नै मानिन्छ । सरकारद्वारा प्रतिवन्धित जडिबुटीपनि संकलन गरी अबैध रुपमा विक्री गर्ने गरेको स्थानीयको भनाई छ ।
बर्षेनी अधिकांश जडिबुटी राज्यलाई कर नतिरेर ठेकेदारहरुले तस्करी गरी हुम्ला हुँदै विभिन्न स्थानमा लैजाने गरेको प्रशासनको भनाई छ ।
जुकोटका, मेहलमुडी बानडाँडा, पलेंटा, सालीमेला संकल्ब्यलगायतका जंगलहरुमा प्रयाप्त मात्रामा जडिबुटी संकलन गरी अर्थ आम्दानी हुने भएपछि अन्य जिल्लाका शिक्षकहरु पनि विदाका बेला घर नगई जडिबुटी संकलनमा लाग्ने गरेका छन् ।
भौगोलिक रुपमा जुकोट गाविस अत्याधिक दुर्गममा पर्छ । गाविसमा कर्मचारीहरु कामका जान मान्दैनन् ।
दुई सिजनमा जडिबुटीबाट प्रतिव्यक्ति एक देखि तीनलाखसम्म आम्दानी हुने गरेको वकील शाहीले बताए ।
चैतको अन्तिम साताबाट शुरुगरी भदौ मसान्तसम्म जडिबुटी संकलन गर्ने गरिन्छ । प्रतिवन्धित जडिबुटीलाई पनि स्थानीयले बिना पूर्जी संकलन गर्दा समेत जिल्ला वन कार्यालयले कुनै चासो देखाएको छैन ।
बाजुराका जडिबुटी हुम्ला हुँदै चीनमा तस्करी हुने गरेका छन् । राज्यले चोरी निकासी रोक्ने तर्फ ध्यान नदिँदा करोडौं रुपियाँ राजस्व चुहावट भएको छ ।
बाजुरामा २६ भन्दा बढि प्रजातिका जडीबुटी बाहिरीने गरेको जिल्ला वन कार्यालयको तथ्याङमा उल्लेख छ । (फाईल तस्विर)

प्रतिक्रिया