सप्तरीमा कोशीटप्पुका हात्तीको आतंक

elephantराजविराज, १९ भदौ । कोशीटप्पु बन्जन्तु आरक्षबाट निस्किएका जंगली हात्तीले सप्तरी जिल्लाका विभिन्न गाविसमा दैनिक सरह आतंक मच्चाउँदै आएका छन् ।
जंगली हात्तीको आक्रमणबाट सप्तरीमा मात्रै उल्लेख्य सर्वसाधारणले ज्यान गुमाई सकेका छन् । हात्तीले बालीनाली खानुका साथै घर समेत भत्काउने गरेका छन् ।
सोमबार राति मात्रै कञ्चनपुर र वदगामाका एक दर्जन घरलाई हात्तीले भत्काई दिएका छन् । ६/७ वटा हात्ती गाउँमा प्रवेश गरी घर भत्काई दिएका हुन् ।
कन्चनपुर–५ का गफुर मियाँको ४, जाकिर मियाँको १, वदगामा–८ का विन्दु चौधरीको १, शिवनारायण मतियारको १, कुशेश्वर राउतको १, श्याम खड्काको १ घर हात्तीले भत्काई दिएको पीडितहरुको भनाई छ ।
हात्तीले गफुरको २५ मन धान र २ क्विन्टल गहुँ, श्याम खड्काको ५ मन धान खाई दिएका छन् । सो स्थानमा हात्तीले झण्डै दश लाख बराबरको नोक्सानी गरेका छन् ।
हात्तीले कञ्चनपुरस्थित गौरीबाबा डिहीबारको पर्खाल समेत भत्काई दिएका छन् । गाउँमा हात्ती प्रवेश गरेर घर भत्काउन थाले पछि भागदौड मच्चिएको स्थानीय श्यामकुमार पासवानले बताए ।
आईतबार मात्रै हात्तीले कमलपुर–१ र ५ मा १० जनाको घर भत्काई क्षति पुर्‍याएका थिए । ६ वटा जंगली हात्तीको समूहले रामफल सदालगायतको घर भत्काई अन्नपात खाई दिएको प्रहरीले जनाएको छ ।
पोर्ताहामा पनि हात्तीले मनोजकुमार यादव र कृष्णकुमार यादवको १–१ तथा वैरवा–१ का शुभलाल यादवको २ वटा घर भत्काएका छन् ।
हात्तीले वैरवा–१ का उपेन्द्र यादव, रामदेव यादव धनिकलाल खंगलगायतको धानबाली समेत नष्ट गरेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया