बाढीपहिरोले आठ जना गम्भीर घाईत

Baglung Districtकाठमाडौं, १८ भदौ । बाग्लुङ, बर्दिया र बाँकेमा बाढी र पहिलोका कारण उल्लेख्य क्षति भएको छ । झण्डै आठ जना घाईते भएका छन् ।
बाग्लुङमा अविरल बर्षाले माथिबाट पहिरो आउँदा देवीस्थान–२ का ओमबहादुर गुरुङ्गको घर बगाएको छ । आज (मंगलबार) विहान ७ बजे पहिरोले पुरिँदा ओमबहादुरका १८ बर्षीया छोरी बिमला गुरुङ्ग, १३ बर्षीय छोरा तेजेन्द्र गुरुङ्ग र ४० बर्षीया श्रीमती देवी गुरुङ्ग घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा लगिएको छ ।
यसैगरी, अवरिल बर्षाले पाण्डवखानी–२ रसिवा बस्ने भक्तिनाथ विकको घर गोठ सोमबार राति भत्कदा ५ जना सामान्य घाइते भएका छन् ।
ग्वालीचौर–३ बस्ने यमलाल घिमिरेको गोठ पनि पहिरोले पुरिदा ४ वटा बाख्रा र १० वटा खुकुरा मरेका छन् ।
बर्षाले आजै विहान हिल–२ बस्ने खड्ग बहादुर दर्जीको गोठ भत्किएको छ । गोठ भत्कदा १ भैसी र १ पाडो पुरिएर मरेका छन् । राजकुट–८ का रोशन घर्ती मगरको गोठ समेत पुरिएको छ । गोठ पुरिदा २ वटा भैसी मरेका छन् ।
यसैगरी पहिरोले मानबहादुर तामाङको मिल बगाएको छ । पहिरोले जितबहादुर योन्जनको घरको पाली पनि भत्किएको छ । सो स्थानमा रहेका ६/७ वटा घरहरु समेत पहिरोको जोखिममा परेका छन् ।
त्यसैगरी दर्लिङ–४ बस्ने लीलाबहादुर कामीको गोठ भत्कदा १ भैसी र १ गोरु मरेका छन् । तमान–६ बस्ने मकरबहादुर बुढाथोकीको घर बगाउनुका साथै पहिरोले उक्त स्थानमा रहेका ५/७ वटा घरहरु जोखिममा परेको छ ।
यता, बाँकेमा अविरल बर्षाले चिसापानी–४ बस्ने माया रोकायाको फुसको घर भत्काएको छ । घर आज विहान ८ बजे पूर्णरुपमा भत्किएको प्रहरीले जनाएको छ ।
त्यसै गरी, बर्दीयामा अविरल बर्षाले आजै विहान आमवासा नदीमा आएको बाढीले नेउलापुर गाविसको वडा नम्बर १,२,३ र ४ मा १२ जनाको झण्डै २ बिगाह जग्गामा पानी पसेर नोक्सानी गरेको छ ।
बारीमा रहेको मकैबाली नष्ट भएको प्रहरीले जनाएको छ । पानी ३४ जनाको घर भित्र पसेर दैनिक उपभोग्यका सामानहरुमा क्षति पुर्‍याएको छ ।
नेउलापुर–१ का अमरसिंह बुढाको कुखुरा फर्ममा पानी पसेर ५ सय वटा कुखुरा नष्ट भएका छन् । रामबहादुर विकको १ सय ५० वटा कुखुरा, रामप्रसाद जैशीको १ सय ५० वटा कुखुरा मर्नुका साथै पानीले दीपक रोक्का क्षेत्रीको १ गोरु मरेको छ ।

प्रतिक्रिया