ज्यालादारी कर्मचारीद्वारा स्थायीको माग

Rajan-Karkiकाठमाडौं, १६ भदौ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले विभिन्न माग राखेर तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजधानीमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर २ सय ४० दिन काम गरेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई स्वतह स्थायी गर्नु पर्ने माग गरेका हुन् । संघले सरकारले आफूहरुको आन्दोलन र मागलाई बेवास्ता गरेको भन्दै उपत्यका बन्द सहितका आन्दोलनको घोषणा गरेको हो ।
तेस्रो चरणका आन्दोलनका कार्यक्रममा भदौ–१९ गते सरकारी तथा संस्थानका रातो प्लेट भएका सवारी साधन उपत्यका भित्र चल्न रोक लगाउने, सोही दिनदेखि मुख्य सचिवको कार्यक्रम बहिष्कार गर्ने, २१ गते देश भरि कार्यालयमा काम नगर्ने र सवारी साधन सञ्चालन पनि रोक्ने तथा भदौ–२२ गते उपत्यका बन्द गराउनेलगायतका कार्यक्रम छन् ।
संघले २ सय ४० दिन काम गरेकालाई स्थायी गर्नु पर्ने, स्थायी सरह पोशाक भत्ता, सम्पूर्ण विदा, चाडपर्व खर्च, विमान, सञ्चयकोषको ब्यवस्था, आधिकारिक ट्रेड यूनियनको चुनावमा भाग लिनु पर्ने, एकमुष्ट तलब बढाउनु पर्नेलगायतका माग राखेका छन् ।
संघका अध्यक्ष राजन कार्कीले २०५७ सालदेखि लोकसेवा नखुलाईएका कारण २२ हजार अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको भविष्य अन्यौलमा परेको बताए ।

प्रतिक्रिया