चुनावमा मुख्य प्रतिस्प्रधी कांग्रेस : एमाओवादी

Ucpn Maobadiकाठमाडौं, ११ भदौ । एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा आफ्नो प्रमुख प्रतिस्प्रधी कांग्रेस रहेको उल्लेख गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा निर्वाचन क्षेत्रमा खटिएका नेताहरुले प्रस्तुत गरेका अधिकांश प्रतिवेदनमा चुनावमा कांग्रेससँग प्रतिस्प्रधा हुने अनुमानसहितको रिपोर्ट पेश गरेका हुन् । निर्वाचनको रणनीति बनाउन एमाओवादीले केन्द्रीय नेताहरुलाई प्रत्यक क्षेत्रमा परिचालन गरेको थियो ।
‘निर्वाचन क्षेत्रमा एक महिना खटिएका नेताहरुले आगामी निर्वाचनका सम्बन्धमा तयार पारेको रिपोर्ट बैठकमा पेश गर्नु भएको छ,’ बैठक पछि पत्रकारसँग कुरागर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘चुनावमा कांग्रेससँग मूख्य प्रतिस्पर्धा हुने रिपोर्ट पार्टी नेतृत्वलाई दिईएको छ ।’
यद्यपि, तराईका जिल्लाहरुमा मधेशी जनअधिकार फोरम र केही स्थानमा एमालेसँग पनि प्रतिस्पर्धा हुने रिपोर्टहरुमा उल्लेख छ ।
उनले कार्यकर्तामा पार्टी विभाजनको मनोवैज्ञानिक असर परेको बताए । ‘पार्टी विभाजनको मनोवैज्ञानिक असर परेको छ,’ उनले भने, ‘पार्टीमा संगठनात्मक असर नपरेको रिपोर्टमा आएको छ ।’
प्रवक्ता सापकोटाले पार्टीको आन्तरिक व्यवस्थापन कमजोर रहेको स्वीकार गरे । उनले भने, ‘आन्तरिक कमजोरी सुधार्नु पर्छ ।’ (तस्विर सौजन्य शिव खकुरेल)

प्रतिक्रिया