बर्डफ्लु नियन्त्रण प्रयासमा व्यवसायीको अबरोध

काठमाडौं, ३१ साउन । बर्डफ्लु रोग निर्मूल गर्न भक्तपुर जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर स्थानीय प्रशासनले पंक्षीजन्य सामाग्री नष्ट गर्न शुरु गरेको छ ।
भक्तपुरमा बुधबार बसेको सर्वपक्षीय बैठकले जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर बर्डफ्लु रोग नियन्त्रण गर्ने निर्णय गरेको थियो । सो निर्णय लगत्तै स्थानीय प्रशासनले आज (बिहीबार) सुरक्षाकर्मी र पुश कार्यालयको सहयोगमा कुखुरालगायतका पंक्षीजन्य सामाग्री नष्ट गर्न शुरु गरेको हो ।
यद्यपि, कुखुरा व्यवसायीले जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर कुखुरा र पंक्षीजन्य सामाग्री नष्ट गर्न लागिएकोमा विरोध जनाएका छन् । उनीहरुले कुखुरा नष्ट गर्दा क्षतिपूर्ति र बैंकको व्याज मिनाहको माग गरेका छन् ।
कुखुरा नष्ट गर्न नदिने जनाएका व्यवसायीको अवरोध भएमा सुरक्षा निकाय परिचालन गरेर भएपनि कुखुरा र पंक्षीजन्य सामाग्री नष्ट गरिने प्रशासनको भनाई छ ।
भक्तपुर जिल्लामा झण्डै तीनलाख कुखुरा रहेको अनुमान छ । जिल्लामा बर्डफ्लुका कारण दिनदिनै कुखुरा मर्न थाले पछि स्थानीय प्रशासनले कडा कदम उठाएको हो ।

प्रतिक्रिया