भैंसीले दुध नदिए पछि बोक्सीको आरोप

Mahila Himsha Bokshiबाजुरा, ३० साउन । भैंसीले दुध नदिए पछि बाजुरा जिल्लामा एक महिलालाई बोक्सीको आरोपमा गाली बेइज्जती भएको छ ।
बुढीगंगा–९ निवासी किणी साउँदलाई छिमेकी बेलु साउँदले बोक्सीको आरोप लगाएकी हुन् । बेलुले घरमै आएर बोक्सीको आरोप लगाई गालीगलौज गरेको किणीले गुनासो गरिन् ।
‘तँ बोक्सी लागे पछि मेरो भैंसीले दुध दिन छाड्यो,’ बेलुको गालीगलौज उदृत गर्दै किणीले भनिन्, ‘अब मेरो भैंसी तै ले लगेर पैसा फिर्ता गरिदे ।’
बेलुले लगाएको बोक्सीको आरोप र गालीगलौज सहन नसके पछि किणीले कारबाहीको मागसहित प्रहरीमा जाहेरी दिएकी छन् ।
किणीका पति कमाउन भारत गएका छन् । किणी नाबालक छोराछारीका साथ घर सम्हालेर बसेकी छन् ।
छिमेकीले बोक्सीको आरोप लगाएर दुरव्यवहार गरे पछि किणीको मन खिन्न भएको छ ।
सदरमुकाम मार्तडीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा बेलु विरुद्ध उजुरी दर्ता गरे पनि कारबाही प्रक्रिया शुरु हुन सकेको छैन । प्रहरीले कारबाही प्रक्रिया छिटो नगरी दिँदा किणीलाई घरमा बस्नै असहज भएको छ ।
प्रहरीले बेलुलाई पत्र पठाएर बोलाएको जानकारी दिएको छ । यद्यपि, बेलुले प्रहरीलाई पनि वेवास्ता गरेकी छन् ।

प्रतिक्रिया