अध्यक्ष बस्नेतलाई आर्थिक घोटालाको आरोप

Jhapat-Rawalकाठमाडौं, २९ साउन । एमाले निकट युवा संघ नेपालमा आर्थिक विषयलाई लिएर अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपटबहादुर रावलवीचको विवाद छताछुल्ल भएको छ ।
उपाध्यक्ष रावलले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष बस्नेतले आर्थिक अपारदर्शिता, स्वेच्छाचारिता र संघको विधान उलंघन गरेको आरोप लगाए । उनले बस्नेतले केन्द्रीय कमिटीबाट सार्वजनिक गरेका कार्यक्रमलाई चुनौति दिँदै समानान्तर कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।
अध्यक्ष बस्नेतले फेसबुक मार्फत साउन–३१ र ३२ गते विराटनगरमा कार्यक्रम सार्वजनिक गरे पछि विवाद सडकमा आएको हो । बस्नेतलाई चुनौती दिँदै रावलले साउन–३१ र ३२ गते पार्टी मुख्यालय बल्खुमा बैठक बोलाएका छन् ।
अध्यक्ष बस्नेतले भदौ–१ र २ गते धरानमा राष्ट्रिय महिला भेला बोलाएको छ भने रावल समूहले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला र भदौ–१४ र १५ गते राजधानीमै जिल्ला अध्यक्ष भेलाको कार्यक्रम सार्वजनिक गरेको छ ।
‘अध्यक्ष महेश बस्नेतले अपराधको आरोप लागेका सचिवालय सदस्य पर्शुराम बस्नेतलाई संगठनभित्र स्थापित गर्ने योजना बनाएका छन्,’ उपाध्यक्ष रावलले भने, ‘अपराधि संरक्षण विरुद्ध अलग्गै अघि बढ्न बाध्य भएका छौं ।’
उपाध्यक्ष रावलले बस्नेतले बुटवल अधिवेशनमा संकलन गरेको ५० करोड रुपियाँको हिसावकिताव कार्यसमितिलाई नदिएको आरोप लगाए ।
‘स्थायी समितिबाट साढे पाँच करोड, पार्टीबाट मासिक ३० हजारको दरले प्राप्त ३० महिनाको रकम, नर्वेजियन राजदूतावासले दिएको पाँच लाख, नेपाल सरकारले यूवा सम्मेलनको नाममा दिएको १६ लाख, दक्षिण अफ्रिका जाँदाको ८ लाख र सहयोग रसिदबाट प्राप्त कुनै पनि रकमको हिसाव किताव अहिलेसम्म आएको छैन,’ उनले भने ।

प्रतिक्रिया