‘चाईनिज’ डाक्टरलाई काउन्सिलले पत्याएन

MBBS-Doctorsकाठमाडौं २८ साउन । नेपाल मेडिकल काउन्सिलले नपत्याए पछि चीनमा एमवीवीएस (चिकित्साशास्त्र) पढेर आएका डाक्टरहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
काठमाडौंमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर चीनमा अध्ययन गरेर आएका ८३ जना डाक्टरहरुले काउन्सिल र स्वास्थ्य मन्त्रालयले विनारोकावट इन्टर्नशिप दिनुपर्ने माग गरेका हुन् । आफूहरुको माग पुरा नगरेको भन्दै उनीहरुले व्यक्तिगत गालीगलौज समेत गरेका छन् ।
सर्वसाधारणको स्वास्थ्यमा खेलवाड हुने भन्दै काउन्सिलले चीनमा अध्ययन गरेर आएका ८३ जना चिकित्सकहरुलाई इन्टर्नशिपका लागि अनुमति दिएको छैन । काउन्सिलले चीनमा अध्ययन गरेर आउने चिकित्सकहरुलाई पछिल्लो समय विश्वास गरेको छैन ।
अस्पतालहरुमा इन्टर्नशिप गर्न पाउनु पर्ने भन्दै उनीहरुले आमरण अनसनको चेतावनी दिएका छन् । यद्यपि, काउन्सिलले उनीहरुको धम्कीलाई वेवास्ता गरेको छ ।
काउन्सिलले पत्याए पछि मात्रै विदेशबाट डाक्टरी पढेर आएका विद्यार्थीलाई अस्पतालहरुमा इन्टर्नशिपको अनुमति दिने कानूनी व्यवस्था छ ।
काउन्सिलले नपत्याएका ८३ जना डाक्टरहरुले काउन्सिलका पदाधिकारीलाई व्यक्तिगत मानमर्दन हुने आक्षेप समेत लगाए ।
चीनको डाली, चाईना थ्री गर्जेज, उहाँन र वेफान विश्वविद्यालयबाट अध्ययन गरेर आएको उनीहरुको भनाई छ ।
केही वर्ष अघि पनि काउन्सिलले चीनमा अध्ययन गरेर आएका डाक्टरहरुलाई विश्वास नलागे पछि इन्टर्नशिपको अनुमति दिएको थिए । उनीहरुले पनि आन्दोलन गरेका थिए ।
‘काउन्सिलका अध्यक्ष डा.दामोदर गजुरेल र रजिष्टार डा.नीलमणि उपाध्ययले सिट पुग्दैन भनी हाम्रो भविष्यमा खेलवाड गरेका छन्,’ संघर्ष समितिका अध्यक्ष दीपक पाण्डेलले आरोप लगाए, ‘काउन्सिलका पदाधिकारी इन्टर्नशिपका नाममा पैसा खान पल्केका छन् ।’
उनीहरुले काउन्सिललाई स्वास्थ्य मन्त्रालय समेतले साथ दिएको आरोप लगाए । समितिका उपाध्यक्ष सुलक्षणा श्रेष्ठले चीनबाट पढेर आएका यसअघिका विद्यार्थीहरुलाई पनि काउन्सिलले नपत्याएको बताईन् ।
चीनमा पढेर आएका सुमन अधिकारीले भने, ‘लाखौं खर्च गरी आएका हामीहरुलाई इन्टर्नशिपका लागि निर्वाध अनुमति दिनु पर्छ ।’

प्रतिक्रिया