खालीखोला लघु जलविद्युत आयोजना अलपत्र

light-bulbबाजुरा, २९ साउन । बाजुरा जिल्लाको वाई गाविसको जेरामा निर्माणाधिन ‘खालीखोला लघु जलविद्युत आयोजना’ आर्थिक अभावका कारण अलपत्र परेको छ ।
२०६७ सालबाट निर्माण कार्य शुरु गरिएको आयोजना आर्थिक अभावको कारण देखाउँदै एकवर्ष पहिला निर्माण कार्य रोकिएको हो । विद्युत उपभोक्ता समक्ष नपुग्दै निर्माण भएका संरचनामा समेत समस्या देखिन थालेका छन् ।
५२ किलोवाट क्षमताको विद्युत आयोजना निर्माणका लागि योजना अनुसारको कम अपुग भएपछि बिचमै रोक्नु परेको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र शाहीले जानकारी दिए ।
वाई र छिमेकी गाविसाका स्थानीयलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको हालसम्म १५ सय मिटर पाईप खरिद भएको छ । एक किलोमिटर नहर पनि निर्माण भईसकेको छ ।
करीब २ करोडको निर्माण लक्ष्य राखिएको आयोजनामा नहर निर्माण पावर हाउस निर्माण, मेसिन खरिद लगायतका कामका लागि १ करोड ९६ लाख बराबरको रकम अभाव भएको समितिको भनाई छ ।
आयोजना निर्माणका लागि नहर निर्माणका साथै अन्य काममा उपभोक्ता आफैले श्रमदान गरेका हुन् ।
आयोजनालाई बाँकी १ करोड ३१ लाख रकम बैकल्पीक उर्जाले सहयोग गर्ने भने पनि हाल सम्म रकम उपलब्ध नभएको स्थानीय अग्नि शाहीले बताए ।
विद्युत गैरसरकारी संस्था एचआरसी बाजुरा, गरिवी निवारण कोषको पैंतीस लाख र गाविसको पाँच लाख रकम आयोजनामा खर्च भइसकेको छ ।
आयोजना आर्थिक कारण देखाउँदै रोकिए पछि स्थानीयलाई उज्यालो बाल्न पाउने आशा निराशामा परिणत हुँदै गएको छ । आर्थिक अभावले गर्दा जिल्लाका अन्य दर्जनौ आयोजनाहरु पनि अलपत्र परेका छन् ।

प्रतिक्रिया