राजेश्वर देबकोटाद्वारा ‘राष्ट्रवादी केन्द्र’ गठन

Rajeshowar-Devkotaकाठमाडौं, २७ साउन । ‘कट्टर’ राजावादीको आरोप खेप्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता राजेश्वर देबकोटाले ‘राष्ट्रवादी केन्द्र’को घोषणा गरेका छन् ।
काठमाडौंमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर संयोजक देबकोटाले सबै राष्ट्रवादी शक्तिहरुलाई एकै ठाउँमा ल्याएर आन्दोलन अघि बढाउने उद्देश्यका साथ केन्द्र गठन गरिएको जानकारी दिए ।
‘राष्ट्रिय एकतामा विभेद ल्याउने तत्वहरु मुलुकमा बलशाली बन्दै गईरहेका छन्,’ उनले भने, ‘त्यसलाई पराजित गर्दै मुलुकलाई अखण्ड राख्न पनि राष्ट्रवादी जागरणको आवश्यकता महसुस गरेका छौं ।’
केन्द्रले आगामी भदौ–१५ गते राजधानीमा बृहद राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।
देबकोटाले राष्ट्रवादी केन्द्रमा आउन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।
बैदेशिक हस्तक्षेप बढेको बताएका उनले चुनावका नाममा मुलुकमा अर्को ‘लेण्डुप दोर्जे’ जन्माउने षडयन्त्र भएको उनले आरोप लगाए ।
हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरु वीच झगडा गरेर नेपालमा परधर्मीहरुले खेलिरहेको उनको भनाई छ । उनले संघीयता नेपालीको मौलिक माग नभए पनि समस्या आईसकेकाले ७५ जिल्लालाई संघीयताको स्वरुप दिनु पर्ने बताए ।
देबकोटाको केन्द्रलाई राप्रपा, राप्रपा नेपाललगायतका दलहरुमा रहेका राजसंस्था र हिन्दू राज्य मान्ने नेताहरुले साथ दिएका छन् ।

प्रतिक्रिया