उपभोक्ता ठग्ने तीन पेट्रोलपम्पमा शिलबन्दी

oil pampaभैरहवा, २४ साउन । रुपन्देहीको भैरहवा क्षेत्रका तीनवटा पेट्रोलपम्पले उपभोक्तालाई ठगी गरेको आरोपमा जिल्ला अनुगमन समितिले शिल गरिदिएको छ ।
ब्रमेली टोलको संगम आयल, नारायणस्थानको सीताराम विहारीलाल पम्प, लुम्बिनीरोडको सराफ आयल स्टोर्सलाई समितिले कारबाहीको दायरामा ल्याएको हो ।
समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृ्त्वमा गएको टोलीले उपभोक्ता ठगी गरेको आरोपमा तीन वटा पेट्रोलपम्पमा शिलबन्दी गरी विक्री वितरणमा रोक लगाएको छ । तीनवटा पेट्रोल पम्मले परिमाण भन्दा कम तेल विक्री गरेको सहायक प्रमुख जिल्ला अधिकारी करुवाङले जानकारी दिए ।
अनुगमनका क्रममा तीनवटा पेट्रोल पम्पले उपभोक्ता ठगी गरेको पाइएको कुरुम्वाङको भनाई छ ।
संगम आयलमा डिजेलमा प्रति ५ लिटरमा २० मिली लिटर कम देखिएको छ । सीताराम बिहारी आयलमा डिजेलमा २५ मिली लिटर र सराफ आयलको पेट्रोलमा २० मिली लिटर कम परिमाणमा बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ ।
शिल बन्दी गरिएका पेट्रोलपम्पलाई स्टाण्डर्ड नापतौल ऐन–२०२५ अनुसार प्रथम पटक एक हजार नगद जरिवाना गर्ने व्यवस्था रहेको क्षेत्रीय नापतौल कार्यलयका निरीक्षक शम्भु आचार्यले जानकारी दिए ।
उपभोक्तालाई ठगी गर्ने पेट्रोलपम्पहरुलाई उपभोक्ता ऐन–२०५४ अनुसार मुद्दा दर्ताको तयारीमा उपभोक्ता मञ्च नेपाल, रुपन्देही लागेको छ ।
नेपाल आयल निगम अञ्चलपुर, शिखा शुद्ध डिजल्स, रिलायन्स नेपाल पेट्रोलियम प्रा.लि., दुर्गा आयल ब्रमेलिटोल, अं बाबा आयल स्टोर्स लुम्बिनीरोड, विन्ध्यावासिनी आयल स्टोर हाटिबनगाई, पाण्डे आयाल इन्टरप्राइजेज बनगाई, जय लुम्बिनी आयल स्टोर्स बनगाईमा पनि समितिले बुधबार जाँच गरेको थियो ।
अनुगमनमा वाणिज्य कार्यलयका प्रमुख चेतप्रसाद उप्रेती, जिल्ला प्रशासन कार्यालयका अधिकृत विश्वराज नेपाल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य नेत्रप्रसाद आचर्य, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया