द्धन्द्धका कारण मुद्दा चलाउन समस्या : गृहमन्त्री

Kedar pd Upadhyaकाठमाडौं, २३ साउन । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धि अनुसन्धान प्रक्रिया तत्काल अघि बढाउन गृहमन्त्री माधवप्रसाद घिमिरेसमक्ष आग्रह गरेका छन् ।
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणबारे गृहमन्त्रीसंग आयोगमै आज (बुधबार) आयोजित बैठकमा अध्यक्ष उपाध्यायले सो आग्रह गरेका हुन् ।
उनले सशस्त्र द्वन्द्वकालीन मुद्दाको अनुसन्धान अघि नबढाउने सरकारको निर्णयलाई आधार बनाएर आरोपित व्यक्तिहरूउपर अनुसन्धानसमेत रोक्ने कार्य कानूनसम्मत नभएको बताए ।
अध्यक्ष उपाध्यायले न्यायको माग गर्दै आमरण अनसनमा बसेका मृतकका आमा–बालाई न्यायको प्रत्याभूति दिनुपर्नेमा पनि जोड दिए ।
गृहमन्त्री घिमिरेले मृतक कृष्णप्रसाद अधिकारीका परिवारजनले न्याय प्राप्तिका लागि गरेको चरणबद्ध संघर्षप्रति नेपाल सरकार नितान्त सम्वेदनशील भएको बताए । उनले न्याय दिन हरसम्भव उपाय खोजिएको बताए ।
उनले सरकारले २०६३ साल जेठ २९ गते नै सशस्त्र द्वन्द्वकालीन मुद्दाहरूमा कारबाही अघि नबढाउने निर्णय गरेकाले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धि मुद्दा अघि बढाउन कानूनी जटिलता देखापरेको बताए ।

प्रतिक्रिया