अलग राज्य माग गरेर भारतमा हड्ताल

Indiaभारत । भारतको पूर्वोत्तर आसाम राज्यबाट अलग्गै राज्यको माग गर्दै एकसय घण्टे आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालका कारण दिमा हसाओ जिल्लाको जनजीवन प्रभावित भएको छ । स्थानीय लिमासा जातीहरु अलग्गै राज्यको माग गर्दै आमहड्तालमा उत्रिएका हुन् ।
स्थानीय हिल स्टेट डेमोक्रेटिक पार्टीले आह्वान गरेको आमहड्तालका कारण यातायात सेवा पूरै ठप्प भएको छ । विद्यालय कल कारखाना बन्द रहेको बीबीसीले जनाएको छ ।

छिमेकी कार्बी आङलोङ क्षेत्रका कार्बी जातीले छुट्टै राज्यको माग गर्दै प्रदर्शन चर्काएपछि कार्बी आङलोङ क्षेत्रमा पनि छुट्टै राज्यको पक्षमा प्रदर्शन सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शनकारीहरुले विभिन्न सरकारी कार्यालयमा आगजनी समेत गरेका छन् ।

यता, आसाममा बोडो जातीले पनि अलग्गै बोडोल्याण्ड राज्यको माग गर्दै पुन आन्दोलन सुरु गरेका छन् । गतसाता भारतको सत्तारुढ कंग्रेस आई गठबन्धनले आन्ध्र प्रदेशबाट अलग्गै तेलंगना राज्य बनाउने घोषण गरेपछि आसाम राज्यका विभिन्न क्षेत्रमा अलग्गै राज्यको माग गर्दै आन्दोलन सुरु भएको हो ।

उता, पश्चिम बंगाल राज्यबाट अलग्गै गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा शनिवारदेखि अनिश्चितकालीन आमहड्तालको आह्वान गरिएको छ । भारतमा पछिल्लो समय अलग्गै राज्यको सबै माग पूरा हुने हो भने भविष्यमा त्यहाँ ५० भन्दा बढी राज्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया