विश्वास नलागे पछि मन्दिरमा क्यामरा

Vimeshowar Mandirदोलखा, २४ असार । भीमेश्वर मन्दिर परिषरको धार्मिक, पुरातात्विक संरक्षण र भेटी संकलन पारदर्शी बनाउन सीसीटीभी जडान गरिएको छ ।
प्राचीन सभ्यता झल्काउने कलाकृति र पुरातात्विक वस्तुहरूसहितका धामिर्क महत्व बोकेको भीमेश्वरमा केही वर्षअघि ढोकामा जडित सामग्री हराएपछि सीसीटीभीको महसुस गरिएको हो । नवगठित भीमेश्वर मन्दिर व्यवस्थापन समितिले भेटी संकलन पारदर्शी बनाउन क्यामरा राखेको जनाएको छ ।
भीमेश्वरको विभिन्न स्थानमा सीसीटीभी जडान गर्न नेपाल पत्रकार महासंघ दोलखा शाखाको पहलमा काठमाडौं पुतलीसडकका नेपा: इन्टरनेसलन र अफिस ट्रेड लिंकले सहयोग गरेको हो ।
भेटी टिपेको हेर्न सकिने र सांस्कृतिक सम्पदाको सुरक्षाका लागि सीसीटीभी जडान गरिएको नेपाल पत्रकार महासघका अध्यक्ष राजेन्द्र मान्धरले बताए । यससम्बन्धि उपकरणहरू महासंघ दोलखा शाखाको समन्वयमा काठमाडौं पुतलीसडकस्थित नेपा: इन्टरनेसनल र अफिस ट्रेड लिंकबाट नि:शुल्क उपलब्ध भएको मानन्धरले बताए ।
डेढ वर्षमा २७ लाख भेटी
भीमेश्वर मन्दिरमा चढाएको भेटी डेढ वर्षमा २६ लाख रुपियाँ संकलन भएको छ । व्यवस्थापनमा सुधार ल्याएपछि सफलता मिलेको हो । भेटीलाई भागबन्डा गर्ने चलन अन्त्य गरी संकलन प्रक्रिया पारदर्शी बनाउँदै पारिश्रमिक नीति कार्यान्वयनमा ल्याएपछि आम्दानी पनि वृद्धि भएको स्थानीयवासीले बताए ।
२०६८ फागुन यता २६ लाख ९६ हजार संकलन भएको जानकारी दिईएको छ । खर्च कटाएर १३ लाख ९७ हजार भीमेश्वर सहकारीमा जम्मा गरेको व्यवस्थापन समितिका कोषाध्यक्ष भरत श्रेष्ठले जनाए ।
यसअघि ५ वर्षमा ३ लाखमात्रै भेटीबापत आम्दानी भएको थियो ।
डेढ वर्षअघि गठित भीमेश्वर व्यवस्थापन समिति प्रयत्नपछि भेटी, रुद्री पूजा र दान चन्दाबापतको रकम बढेको छ । नयाँ समितिले भेटी संकलन विधिलाई सामान्य सुधार गरेको जानकारी कार्यक्रममा दिइयो ।
अध्यक्ष जीवनकुमार श्रेष्ठले भेटीबाट २२ लाख ८८ हजार, बलिपूजाबाट १ लाख ६५ हजार, दान बाकसबाट १ लाख २६ हजार, चन्दाबाट ७१ हजार र जरिवानाबाट ४ हजार ५ सय आम्दानी भएको छ ।
नयाँ समिति बन्नुअघि आम्दानीको पाँचमध्ये एक भागमात्रै आम्दानीमा बाँध्ने चलन थियो । चार भाग टहलुवा (मन्दिर हेरालु) को नाममा खर्च हुन्थ्यो ।

प्रतिक्रिया