गौरीशंकरमा कागज मिलाउन साहको दौडधुप

_MG_3640दोलखा, २३ असार । दोलखा जिल्लास्थित गौरीशंकर संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा र झ्याउ निकासीका लागि कागजपत्र मिलाउन सक्रियता देखाएका छन् ।
आयोजना व्यवस्थापन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत नभएको मौका छोपेर प्रमुख साह धुपीका चोइटा र झ्याउजन्य वनपैदावार निकासीमा क्रियाशील भएको स्रोतले जनाएको छ ।
संरक्षण क्षेत्रमा संकलित वन प्रदावार निकासीका लागि भन्दै साहले कार्यालय परिसरमै धुपीका चोइटा र झ्याउ भण्डारण गरी राखेका छन् ।
प्रमुख साहको सो गतिविधी मातहतका कर्मचरीले सार्वजनिक गरे पछि धुपीका चोइटा र झ्याउ निकासीको छुटपूर्जी मिलाउन लागेको स्रोतले जनाएको छ । छुटपूर्जी बनाउन प्रमुख साह राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीनहप्तादेखि धाइरहेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष सीता केसीले संक्रमणकालीन अवस्थामा निकुञ्ज र संरक्षण क्षेत्रको नियमावली कार्यान्वयन गर्न नसकिँने बताईन् । ‘त्यहाँ रहेका प्राकृतिक स्रोत साधनको मूल्य तोक्न तथा विक्री गर्न, संकलन र निकासी गर्न सक्ने अवस्गा छैन,’ उनले भनिन् ।
प्रमुख साहका अनुसार पाँचऔंले, झ्याउ, कुड्की, ओखरको बोक्रा संकलन र निकासीमा प्रतिबन्ध छ । प्रशोधन गरी सारतत्व निकालेर यार्सागुम्बा, सुगन्धवाल, सुगन्ध कोकिला, सिलाजित, लौठसल्ला, सर्पगन्धा, पोलिपत्र निकासी गर्न पाउने कानूनमा व्यवस्था छ ।
गौरीशंकर संरक्षण क्षेत्रका विभिन्न क्षेत्रमा व्यापक वन फँडानी र तस्करी बढेको गुनासो आएपछि वन मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले दुई वटा छानविन समिति बनाई सकेको छ ।
जिल्ला वन कार्यालय दोलखाका अधिकृत रामकुमार भण्डारीले संरक्षण क्षेत्रमा आफूहरुले कुनै हस्तक्षेप गर्न नमिल्ने बताए । प्रमुख साहले आफूलाई लागेको आरोप निराधार रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया