बाजुरामा ‘विश्व खाद्य कार्यक्रम’को ठगी

World Food Programअसार, १८ बाजुरा । असार–१५ गते भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु गरिएको मार्तडी–कोल्टी सडकखण्डको काममा ढिलाई भएको छ ।
जेठ–२ गतेबाट काम शुरु गर्ने गरी भएको सर्वपक्षीय सहमतिमा विभिन्न बाहना देखाई कार्यान्वयन नहुँदा निर्माण कार्यमा ढिलाई भएको हो । मार्तडीदेखि पाण्डुसैनसम्मको २५ किलोमिटर बाटो निर्माणका लागि ४५ दिनको समय लिएर विश्व खाद्य कार्यक्रमले निर्माणको जिम्मा लिएको थियो ।
बैशाख–३१ गते जिल्ला विकास समितिमा बसेको सर्वपक्षीय बैठकबाट जेठ–२ गतेबाट काम शुरु गर्ने, खडुका भीरको सेल्तानी कन्ट्रक्सन प्रालिको डोजरले गरेको कामको मूल्यांकन गरी रकम भुक्तानी गर्ने तथा जेठ–७ गते भित्र खडुका भीरमा बिग्रिएर राखिएको डोजर हटाई काम सञ्चालन गर्ने सहमति भएको थियो ।
यद्यपि, समय सीमासम्म आइपुग्दा समेत २० प्रतिशत काम नभएको स्थानीयको आरोप छ ।
प्रतिकुल मौसम, डोजर र अन्य उपभोक्ता समितिको कम उत्तरदायित्व जस्ता विभिन्न बाहना लगाएर खाद्य कार्यक्रमले एकतिहाइ काम समेत नगरेको जनगुनासो छ ।
प्रारम्भदेखि नै विभिन्न व्यक्ति, समिति, दल जिल्ला विकास समितिसँग छलफलबाटै अगाढि बढेपनि काम गर्ने वातावरण स्वयं खाद्य कार्यक्रमले विगारेको छ । सबैले असहज स्थिति सिर्जना गरेको बाहना बनाएर खाद्य कार्यक्रमले समयमा काम नगरेको आरोप पनि लागेको छ ।
असार–१५ गते समय भित्र पाण्डुसैनमा गाडी पुर्‍याएर सडकको उद्घाटन गर्ने बचन दिदै आएको खाद्य कार्यक्रमले खडुको भीर काट्न छोडेर डोजरलाई रजातोलीसम्म अगाडि बढाएको छ ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सप्रोस नेपालको सहकार्यमा कम्पनीलाई जिम्मा दिएर काम सम्पन्न गर्ने बताएपनि काम भने सिन्का समेत नउठाएको स्थानीयले आरोप लगाएका छन् ।
पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले विश्व खाद्य कार्यक्रमले बाटो निर्माण गरे बर्षतका बेला स्थानीयको आँखामा छारो हालेको आरोप लगाए । स्थानीय उपभोक्ताहरुले पनि घरको काममा चासो बढि दिने गरेको रमेश बोहराले बताए ।
२०६८ सालमा निर्माण कार्य शुरु गरिएको मार्तडी–कोल्डी सडक खण्डमा हालसम्म करोडौंको रकम खर्च भएपनि काम भनेजस्तो हुन सकेको छैन ।
विश्व खाद्य कार्यक्रमले थप गरेको एककरोड ६५ लाख बराबरको रकम पनि वालुवामा पानी मिसिए जस्तै भएको छ ।

प्रतिक्रिया