चुरे विनासका कारण बाढीको समस्या : रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, १६ असार । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुरेको विनासका कारण तराई र भित्री मधेसमा बाढी/पहिरोको समस्या देखिएको बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) दाङको दोलई खोला तटवन्ध निर्माण सहयोग समितिका पदाधिकारीसँगको भेटका क्रममा अध्यक्ष रेग्मीले चुरेको विनासले पछिल्लो समय सर्वसाधारणले समस्या भोग्नु परेको बताए । ‘चुरेको वन/जंगल नासिँदा बाढी/पहिरोको समस्या आएको हो,’ उनले भने, ‘चुरे पहाडबाट आउने बालुवा र माटोले खोला पुरिँदा कटान र डूबान भएको छ ।’
उनले चुरेको जंगल विनास र त्यसबाट उत्पन्न समस्यालाई दीर्घकालीन रुपमा योजना बनाई जानुपर्ने बताए । ‘चुरे क्षेत्रको समस्यालाई दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा बजेट मात्रै छुट्टाएर कुनै प्रभाव पर्दैन ।’
दाङको देउखुरी उपत्यकामा गतसाल दोलई खोलामा बाढी आउँदा बगेर चारजनाको मृत्यू भएको थियो । बाढीले झण्डै एकलाख विस्थापित र हज्जारौं विघा जमिन कटानमा परेर नोक्सानी भएको थियो ।

यसैबीच, मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले तयार पारेको ८४ करोड रुपियाँको गुरुयोजनासहितको ज्ञापन–पत्र बुझाएको दोलई खोला तटवन्ध निर्माण सहयोग समितिका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए ।
‘बाढीका कारण वर्षेनी समस्या भोग्दै आएका छौं,’ भट्टराईले भने, ‘यसको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छौं ।’
अध्यक्ष रेग्मीसँगको भेटका लागि अध्यक्ष भट्टराईका साथै उपाध्यक्ष शान्तराज पन्थी शर्मा, सचिव ओम वञ्जाडे, सिसहनियाँ गाविसका सचिव मंगलप्रसाद चौधरी, सदस्यहरु दशरथ घिमिरे, ओमप्रसाद सुवेदी, खिमप्रसाद केसी, वीरबहादुर चौधरी, नारायण चौधरी, देवराज चौधरी केशव पोखरेल, हरिहर शर्मा, काशीनाथ पोखरेल, जोखुराम चौधरीलगायतका नेताहरु पुगेका थिए ।

प्रतिक्रिया