एमाओवादीको नौ सदस्यीय पदाधिकारी

काठमाडौं, १५ असार । एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारी नौ सदस्यीय हुने प्रस्ताव गरेका छन् । चार सचिव र एक कोषाध्यक्ष मनोनित गर्ने प्रस्ताव उनको छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार पदाधिकारीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, चार सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ । त्यसैगरी स्थायी समितिमा २५ पूर्णसदस्य र सात वैकल्पिक स्थायी समिति सदस्य रहने तथा पोलिटब्युरोमा ५१ पूर्णसदस्य र २४ वैकल्पिक सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै केन्द्रीय समितिमा भने एक सय ५१ पूर्ण र आवश्यकताअनुसार वैकल्पिक सदस्य रहने व्यवस्था गरिएको प्रवक्ता सापकोटाले बताए । केन्द्रीय समितिको बैठकमा पेस भएको प्रस्तावमाथि आज ३१ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन । लोकेन्द्र विष्ट मगर, हेमन्तप्रकाश ओली, दीनानाथ शर्मा, झक्कुप्रसाद सुवेदी, श्रवणकुमार यादव, जनार्दन शर्मा, हेमराज भण्डारी, वुद्धिमान माझी, खगराज भट्ट, भीमप्रकाश गौतम, लीलबहादुर थापालगायतले धारणा राखेका छन् । उनीहरुले पार्टीलाई जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाअनुसार अगाडि बढाउनुपर्ने, चुनावलाई ध्यानमा राखेर तत्काल कार्ययोजना बनाएर लागु गर्नुपर्ने, पार्टीभित्र देखिएका समस्या तत्काल हल गर्नुपर्ने लगायतका धारणा राखेका छन् ।

प्रतिक्रिया