अनाथाश्रमका युवालाई जापानमा औद्योगिक तालिम

काठमाडौं, ११ असार । नेपालमा कार्यरत जापानिज गैरसरकारी संस्था स्पेक—जापानको सक्रियतामा नेपाली युवालाई जापानमा उत्कृष्ट प्रविधियुक्त प्रशिक्षण दिने भएको छ ।

युवाहरूमार्फत संसारकै उत्कृष्ट प्रविधि नेपालमा भित्र्याउने उद्देश्यका साथ वार्षिक कम्तीमा ५० जना युवाहरूलाई जपान लैजान लागिएको हो । नेपाल भ्रमणमा रहेको सेइतोकु कम्पनीका अध्यक्ष आवे योसिओ र स्पेक जापानका प्रतिनिधि सात्सुकी इतो नेतृत्वको टोलीले पहिलोचरणमा जापान जाने २६ जना युवाहरूको प्रारम्भिक अन्तर्वार्ता लिएको छ ।
विशेषगरी, अनाथाश्रममा आश्रित गरिब तथा असहाय १८ देखि २५ वर्ष उमेर समूहका युवाहरूले यो प्रशिक्षण लिन पाउनेछन् । उनीहरूलाई निर्माण, स्वास्थ्य तथा केयर गिभरको नि:शुल्क तालिम दिइनेछ ।
तीनमहिने प्रशिक्षण र आवश्यक सबै खर्च जापानको सेइतोकु कम्पनीले व्यहोर्ने व्यवस्था मिलाइएको कम्पनीका नेपालस्थित प्रतिनिधि गणेशमान लामाले बताए ।
अनाथाश्रममा आश्रित बालबालिकाहरू कुलत बाटोमा जान नदिने उद्देश्यले युवाहरूलाई जापानमा लैजान लागिएको उनले बताए । तीनमहिने आधारभूत प्रशिक्षणपछि युवाहरूलाई नेपाल फर्काइनेछ । विशिष्ट तालिम लिन चाहेमा पुन: तीन महिनाका लागि जापान लैजाने व्यवस्था मिलाइएको छ । स्पेक जापानले ५ वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया